दोस्रो दिनपनि लगाइयो भाइटीका, किजापूजा गरेसँगै तिहार समाप्त - दर्पण संसार

दोस्रो दिनपनि लगाइयो भाइटीका, किजापूजा गरेसँगै तिहार समाप्त

काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयाका दिनसम्म मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व मंगलबार दोस्रो दिन किजापूजा गरेसँगै समाप्त भएको छ ।

नेवार समुदायको केही समूहमा कात्तिक शुक्ल द्वितीयामा सूर्योदय भएका दिन नै भाइटीका लगाउने कूल परम्परा रहेकाले सो समूहका दाजुभाइले आज(मंगलबार) दिदीबहिनीबाट टीका लगाएका हुन् ।

नेवार समुदायका केही समूहका दिदीबहिनी र दाजुभाइले श्रद्धा, र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिएका छन् ।

दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ । यसैगरी दिदीबहिनी एवं दाजुभाई नहुनेले भाइटीकाका अवसरमा दर्शन गर्ने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर बिहानदेखि नै खुला छ । यमपञ्चक भने सोमबार नै सकिएको हो ।

यसपटक पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माणपछि तिहारमा पहिलो पटक खुलेको हो ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाका अवसरमा मात्र खुल्छ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् । पाँच वर्षपछि खुलेको बालगोपालेश्वरमा आज पनि भक्तजनको भीड लागेको छ ।

"

प्रतिक्रिया दिनुहोस्