अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल नेपाल पुलिसको कब्जामा - दर्पण संसार

अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल नेपाल पुलिसको कब्जामा

नेपालगन्ज । छैटौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबले जितेको छ ।

बुधवार उपाधीका लागि भएको अन्तिम भिडन्तमा नेपाल एपिएफ क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब च्याम्पियन बनेको हो ।

नेपालगन्जस्थित कभर्डहलमा भएको फाइनल खेलमा पुलिसले एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै सो अन्तराष्ट्रिय उपाधी जितेको हो ।

पुलिसले एपिएफकी मुख्य स्पाइकर सरस्वती चौधरी नहुदाको फाइदा उठाउन सफल भयो । सरस्वती इन्ज्युरीका कारण नेपालगन्ज आउन सकिनन् ।

पुलिसले एपिएफसँगको लगातार हारको श्रृंखला तोड्दै लामो समयपछि जित निकालेको हो । पछिल्लो एक महिनामा तीन भेटमा एपिएफ नै विजयी भएको थियो ।

एपिएफले काठमाडौंमा भएको ढोरपाटन डबल लिगमा दुवै पटक पुलिसलाई हराएर उपाधि जितेको थियो । यस्तै यसै साता पर्वतमा सम्पन्न भएको दिदी बहिनी कपमा पनि एपिएफले पुलिसलाई हराएर उपाधि जितेको थियो ।

पुलिसको यो सिजनको दोस्रो उपाधि हो । यसअघि पुलिसले पोखरामा सम्पन्न भएको महिला भलिबलको उपाधि जितेको थियो । एपिएफ सिजनको आठौं उपाधि जित्नबाट वञ्चित रह्यो । यस्तै एपिएफ पछिल्लो एक वर्षपछि उपाधि जित्न असमर्थ बन्यो ।

एपिएफ र पुलिसबीचको अन्तिम खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएपनि पुलिसले आक्रामक खेल खेल्दै सहज रुपमा सोझो सेटमा हरायो । सुरुवात देखि नै एपिएफविरुद्ध अग्रता लिएको पुलिसले पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको थियो ।

दोस्रो सेटमा सुरुवातमा पछि परेपनि पुलिसले उत्कृष्ट प्रदर्शन गर्दै खेललाई २५र१७ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

तेस्रो सेटमा पनि पुलिसले पछि परेको अवस्था उल्ट्याउदै २५र१८ को जित निकाल्दै च्याम्पियन बन्न सफल भयो । सो खेलको तेस्रो सेटको खेल भईरहँदा एपिएफकी कप्तान विनिता बुढाथोकी घाइते हुन पुगेकी थिइन् ।

उपाधिसँगै पुलिसले २ लाख रुपैया हात पार्यो । दोस्रो भएको एपिएफलले १ लाख रुपैया रुपैयमा चित्त बुझायो ।

"

"

प्रतिक्रिया दिनुहोस्