सत्ता गठबन्धनमा आवद्ध दलहरुले जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
नेपाली कांग्रेसले कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले पदाधिकारीबाहेक २४ जनाको नाम अनुमोदन गरेको हो । बैठकले पदाधिकारीहरुसहित सदस्यहरुलाई कार्यसम्पादन समितिमा अनुमोदन गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्ता नियमित भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन पुनःस्थगन गरेको छ । यही माघ १५ गतेका निम्ति निर्धारण भएको अविधेशन कोरोना महामारीका कारण सार्ने निधो भएको हो ।