आगामी स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुबीच तालमेल गरेर अघि बढ्ने विषयमा नेपाली कांग्रेसका नेताहरुबीच एकमत छैन । यसैबीच कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलेको गठबन्धनले मूर्तरूप लिन नसक्ने प्रतिक्रिया दिएका छन् । विचार नै नमिल्ने पार्टीहरूबीच गठबन्धन भएकोले नतिजा सोचेजस्तो नआउने उनको भनाइ छ ।
प्रधानमन्त्री शेर बहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चार सम्झौतामा हस्ताक्षर गरेका छन् । भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री देउवा र मोदीबीच नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति, नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच प्रविधिक विज्ञता आदान–प्रदानबारे सम्झौता भएको हो ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा प्रश्न उठाएका छन् । चुनावको मुखमा भारत भ्रमण जानुको केही अर्थ रहने भन्दै उनले नेपाल फर्किएपछि सोध्ने बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा छन् । भारतमा उनलाई भव्य स्वागत पनि गरिएको छ । तीन दिनको भ्रमणका लागि शुक्रबार भारत गएका देउवा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को मुख्यालय पुगे ।