‘के सरकारले डा.केसीलाई मार्नै खोजेको हो ?’ - दर्पण संसार

‘के सरकारले डा.केसीलाई मार्नै खोजेको हो ?’

काठमाडौं । डा. गोविन्द केसीले २२ दिनदेखि जारी राखेको अनशनका क्रममा उनको स्वास्थ्य खतरनाकरूपमा नाजुक बन्दै गएको अवस्था र त्यसप्रति सरकारको उदासिनताबारे साझा पार्टीले गम्भीर चिन्ता व्यक्त गरेको छ ।

डा केसीले १९औँ अनशनमा राखेका कुनचाहिँ माग नाजायज छन् ? भन्दै साझा पार्टीले नाजायज माग छन् भने सरकारले आम जनतालाई व्याख्या गर्नुपर्ने साझा पार्टीले जनाएको छ । ‘होइन भने विश्वमै विरलै भेटिने डा केसी जस्ता गरिब र निमुखा नागरिकका लागि ज्यानै अर्पण गर्न तयार सत्याग्रहीको माग सरकारले पुरा गर्नुपयो ।’

डा केसीले २०६९ सालमा पहिलो अनशन सुरु गरेयताका सबैजसो मागहरू सत्तापक्ष र प्रतिपक्षले तथा देशको संविधानले अख्तियार गरेको समाजवादी सोचसँग मिल्दाजुल्दा रहेको भन्दै उक्त पार्टीले यिनै दलले पटक पटक सरकारको नेतृत्व गर्दा पनि डा केसी उस्तै माग राखेर फेरी फेरी अनसनमा बस्नुपर्ने स्थिति रहिरहनु विडम्बनाको विषय भएको जनाएको छ ।

वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वमा भएको बेलामा मात्र उनी छ पटक अनशन बसिसकेका छन् । यस पटक अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दा समेत सरकारले क्रुर असंवेदनशीलता प्रकट गरिरहेको छ र वार्ता टोलीसम्म गठन गरेको छैन ।’

विज्ञप्तीमा भनिएको छ ‘कुचोले बढार्नु पर्ने कसिङ्गर, हावाले उडाएर लैजाओस् भनेझैँ रवैया प्रस्तुत गरिरहेको छ । के सरकारले डा केसीलाई मार्नै खोजेको हो ?’

प्रतिक्रिया दिनुहोस्