सलह किरा नेपाल भित्रियो, विश्वका लाखौं हेक्टर बालीनाली नष्ट  - दर्पण संसार

 सलह किरा नेपाल भित्रियो, विश्वका लाखौं हेक्टर बालीनाली नष्ट 

काठमाडौं । विश्वका विभिन्न देशमा बालीनालीमा व्यापक क्षति पुर्‍याएको सलह नेपालमा पनि प्रवेश गरेको छ । भारत हुँदै बारा भित्रिएको सलहले धानबालीमा क्षति गर्न थालेको छ ।

शनिबार बिहान प्रवेश गरेको सलह किराले जिल्लाका निजगढ, डुमरवाना, सिमरा क्षेत्रमा क्षति गर्न थालेको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले जानकारी गराए ।

सामान्य मनसुनसँगै प्रवेश गरेको सलह दिउँसो १ बजेसम्म खेतबारीमा सक्रिय रहेको कृषि ज्ञान केन्द्र बाराले जानकारी गराएको छ ।

एकाएक सयौंको संख्यामा किरा खेतबारीमा प्रवेश गरेपछि किसानहरु चिन्तित बनेका छन् ।

यस्तै, पर्सा र सर्लाहीमा पनि सलह प्रवेश गरेको छ । पर्साको पर्सागढी तथा सर्लाहीको नवलपुर क्षेत्रमा सलह देखिएको हो ।

बाराको कृषि ज्ञान केन्द्रले सलह प्रवेश गरेको क्षेत्र पहिल्याउँदै सलह नियन्त्रणका लागि कृषकहरुसँग छलफल गरेको छ ।

यस्तै, रुपन्देहीको भैरहवा र बुटवल आसपास तथा कपिवस्तुको वाणगंगा क्षेत्रमा पनि सलहजस्तै देखिने किराको समूह भित्रिएको छ ।

सलह ठूलो संख्यामा नरहेकाले भारतबाट तितरवितर भएर हावाहुरीसँगै नेपाल आएको हुनसक्ने अनुमान विज्ञहरुले गरेका छन् ।

विश्वमा सलह
विश्वमा कोरोनाभाइरसको महामारीअघि बाली नष्ट गर्ने सलह किरा अफ्रिकी मुलुकहरुमा देखापरेको थियो ।

अफ्रिकाका विभिन्न देशमा हजारौं हेक्टरको बाली नष्ट गरेर रसियातिर लागेको सलह रसियाबाट चीन पुगेको थियो ।

पछिल्लो समय पाकिस्तान र भारतमा आतंक फैलाइरहेको सलह अन्ततः नेपालमा पनि प्रवेश गरेको छ ।

सुरुमा अफ्रिकी मुलुकहरुमा देखिएको सलहले इथियोपिया, केन्या, सोमालिया, तान्जानिया, युगान्डाजस्ता राष्ट्रहरुमा धानबालीमा नष्ट गर्दै चीन प्रवेश गरेको थियो ।

चीनपछि सो किराको समूह रसिया प्रवेश गर्दा त्यहाँको धानबालीमात्रै नष्ट गरेन, त्यहाँका घर–घरमा प्रवेश गर्दा सर्वसाधारणको दैनिकीसमेत प्रभावित बनेको थियो ।

अहिले सो किराको समूह पाकिस्तान र भारत हुँदै नेपाल प्रवेश गरेको छ ।

अमेरिकी फौजी किराभन्दा कयौं गुणा क्षति गर्नसक्ने सलह किराको समूह विश्वका कयौं राष्ट्रहरुमा प्रवेश गर्नेक्रममा रहेको छ । जुन चुनौतीकारुपमा देखिएको छ ।

संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले सलहलाई ‘प्लेग’को पनि संज्ञा दिएको ।

यो किराको समूहलाई नियन्त्रणमा लिन विश्वका थुप्रै राष्ट्रहरुले उपाय अपनाए तापनि सफल भने हुनसकेका छैनन् ।

६० वर्षअघि पनि देखापरेको सलहले विश्वका विभिन्न देशमा लाखौं हेक्टर बालीनाली नष्ट गरेको थियो । भारतमा भने २६ वर्षपछि आएको बताइन्छ ।

भारत र पाकिस्तानले पनि एक–अर्काको समन्वयमा सलहलाई नियन्त्रण गर्ने प्रयास जारी राखेका छन् । सलह नियन्त्रणका लागि प्रविधि र सूचनाको आदान–प्रदान गर्ने गरिएको छ ।

यो किराको समूह लाखौं वा करोडौंको संख्यामा हुने र यसले सम्पूर्ण हरिया वनस्पतिहरू छोटो समयमा नै नष्ट गर्ने क्षमता राख्दछ । र, यो किरा एक दिनमा लगभग १३० किलोमिटरसम्म हुल बनाएर उड्ने गर्छ । यद्यपि, मानिसलाई भने यसले टोक्ने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्