विनाअक्सिजन १०औँ पटक सगरमाथा चढ्ने आङरिता रहेनन् - दर्पण संसार

विनाअक्सिजन १०औँ पटक सगरमाथा चढ्ने आङरिता रहेनन्

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको निधन भएको छ ।

सोमबार बिहान १० बजे उनको आफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएको उनका आफन्त नुरछेपाल शेर्पाले जानकारी दिए ।

सोलुखुम्बुको थामेमा जन्मनुभएका ७२ वर्षीय ‘हिमचितुवा’कोे पार्थिव शरीर शेर्पा गुम्बामा राखिएको छ ।

बुधबार बौद्धधर्मानुसार दाहसंस्कार गर्ने तयारी गरिएको छ । उनले सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गरेका हुन ।

सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो अन्तिम आरोहण थियो ।

सर्वोच्च शिखर सगरमाथा मात्रै नभई विनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उनले पटकपटक आरोहण गरेका थिए ।

सन् १९४८ मा जन्मिएका आङरिताको पुख्र्यौली पेशा चौरीपालन भए पनि १५ वर्षकै उमेरदेखि आरोहणमा लागेका थिए ।

पहिलो पटक करीब २० वर्षका उमेरमा चोयु हिमालको आरोहण गरेका शेर्पाले विनाअक्सिजन पहिलो पटक १९८३ मा सगरमाथा चुचुरामा पाइला टेकेका थिए ।

आरोहणका क्रममै रहनुभएका आङरिता बिरामी भएपछि आरोहण यात्रा रोकिएको थियो ।

सगरमाथा आरोहणमा नजानाको मुख्य कारण उन बिरामी भएका बेला तत्कालीन राजा वीरेन्द्रले युवराज दीपेन्द्रलाई घरैमा भेट्न पठाएका थिए ।

गोपीकृष्णस्थित भाडाका कोठामा बसेका शेर्पालाई भेट्न आएका दीपेन्द्रले ‘बुबा (वीरेन्द्र) ले आरोहणबाट सन्न्यास लेऊ भन्ने हुकुम भएको छ ।’

त्यसपछि उनी आरोहणमा नगएको परिवारको भनाइ छ । त्यसबेला राजा वीरेन्द्रले चाहना र आवश्यकता के छ भनेर सोधे पनि आफूले केही पनि चाहना व्यक्त नगरेको आङरिताले पत्रकारसँगको भेटमा भन्ने गरेका थिए ।

सन् १९९६ तिर दीपेन्द्रले “दरबार आउनू” भनेको भए पनि दरबार नगएको बताउने शेर्पा नेपाल सरकारबाट त्यसबेला त्रिशक्तिपट्ट, गोरखा दक्षिणबाहु जस्ता तक्माबाट भने सम्मानित भएका थिए ।

दश पटकको विश्वकीर्तिमानलाई भने अहिलेसम्म कुनै आरोहीले तोड्न सकेका छैनन् ।

नेपालको नाम विश्वभरि फैलाउन सफल आफूलाई भारत सरकारले उतै बस्न व्यवस्था मिलाइदिने प्रस्ताव राखे पनि नगएको बताउने शेर्पालाई नेपाल सरकारबाट भने खासै सहयोग प्राप्त नभएको उनकी छोरी डोमाले बताइन ।

आङरिताका तीन छोरा र एक छोरी छन् । जेठा छोरा कर्साङ आरोहण पेशामै छन् ।

माहिला छोरा छेवाङ दोर्जे भने अमेरिकामा छन् र कान्छा छोरा फुरानुरु खुम्बुमै चौरी धपाउने काम गर्छन ।
छोरी डोमा जोरपाटीमा छन्। आङरिता उनै छोरीसँग बस्दै आएका थिए । उनको सात वर्षअघि पत्नीको निधन भएको थियो

प्रतिक्रिया दिनुहोस्