विदाइ समारोहमा कुलमानको प्रशंसा: ‘उहाँको क्षमता शत्रुले समेत सम्मान गर्ने खालको' - दर्पण संसार

विदाइ समारोहमा कुलमानको प्रशंसा: ‘उहाँको क्षमता शत्रुले समेत सम्मान गर्ने खालको'

काठमाडौं । नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङलाई मंगलवार प्राधिकरणका कर्मचारीहरुले बिदाई गरेका छन् ।

चार वर्षे कार्यकाल सोमवार पुरा गरेका घिसिङलाई कर्मचारीहरुले एक कार्यक्रमको आयोजना गरी बुद्धको मूर्ति मायाको चिनो उपहार दिएका थिए । कार्यक्रममा सहभागी अधिकांश वक्ताहरुले उनलाई पुनः कार्यकारी निर्देशकका रूपमा प्राधिकरणमा ल्याउनुपर्ने बताएका थिए । कार्यक्रममा बोल्दै उनले प्राधिकरणको नेतृत्वमा कोही आउनु–जानु स्वभाविक प्रक्रिया भएको बताए ।

विसं २०५१ सालमा सातौं तहबाट प्राधिकरणमा प्रवेश गरेका उनलाई तत्कालिन सरकारले विसं २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त गरेको थियो ।

लगभग १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई रू.३४ अर्ब सञ्चित नोक्सानीबाट रू.५ अर्बको सञ्चित नाफामा लगेको भन्दै उनलाई पुनः नियुक्त गर्नुपर्ने आवाज चौतर्फी रुपमा आइरहेको छ ।

कुनै समय रु.२९ अर्ब अपलेखन गर्दासमेत वार्षिक झण्डै आठ अर्बका दरले घाटामा गइरहेको प्राधिकरणलाई नाफाको युगमा परिणत गर्न पछिल्लो चार वर्षमा भएका प्रयास नै निर्णायक भएको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्काली ऊर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेका कुलमान घिसिङले प्राप्त गरेको चार वर्षको अवधिमा नेपाली जनतालाई अँध्यारोबाट उज्यालो यात्रामा डोहोर्याएका थिए ।

बिदाइ समारोहमा सहभागी अधिकाशंले कार्यकारी निर्देशक घिसिङको पहिलो सत्रमात्रै सकिएको भन्दै चाँडै नै उहाँ पुनः कार्यकारी निर्देशक भएर आउने विश्वाससमेत व्यक्त गरेका छन् ।

विदाइ समारोहमा वरिष्ठ उपकार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले कामप्रति इमान्दार, लगनशील तथा मेहनती व्यक्तित्व घिसिङको नेतृत्वमा प्राधिकरण अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

“बिदाको दिनसमेत नभनी काम गर्ने, संस्थालाई नै केन्द्रमा राखेर काम गर्ने घिसिङजस्तो व्यक्तित्वको खाँचो अझै पनि प्राधिकरणलाई छ”, शाक्यले भने “उहाँको क्षमता शत्रुले समेत सम्मान गर्ने खालको छ ।”

उनले घिसिङको नेतृत्वले गर्दा प्राधिकरणको कर्मचारी भनेर बाहिर शिर उठाएर हिँड्ने वातावरण बनेको बताए .।

प्राधिकरणका अर्का उपकार्यकारी निर्देशक हरराज न्यौपानेले संस्थालाई सबल बनाउन नेतृत्वकर्ता नै ऊर्जाशील हुनुपर्ने तथ्य स्थापित भएको भन्दै घिसिङले बसाएको जगलाई पूरा गर्न सबैले उत्तिकै मेहनत गर्नुपर्ने बताए ।

उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले प्राधिकरणप्रति नागरिकमा बढेको विश्वासलाई थप बढाउँदै सरकारले लिएको लक्ष्य पूरा गर्न पनि घिसिङ जस्तै नेतृत्व जरुरी रहेको बताए ।

आधिकारिक कर्मचारी युनियनका संयोजक रामेश्वर पौडेलले घिसिङको पुनः नियुक्तिका सन्दर्भमा देखिएको कानूनी जटिलता फुकाएरै भए पनि एकाध दिनमा नै पुनः नियुक्ति पाउने विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्