टिकटकले अमेरिकामा १० हजार कर्मचारी भर्ती गर्ने - दर्पण संसार

टिकटकले अमेरिकामा १० हजार कर्मचारी भर्ती गर्ने

काठमाडौं । चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकले अमेरिकामा १० हजार कर्मचारी भर्ती गर्ने भएको छ ।

अमेरिकी सरकारले एपमाथि प्रतिबन्ध लगाउने अड्कलबाजी बढिरहेकै बेलामा कम्पनीले यस्तो घोषणा गरेको हो ।

आगामी तीन वर्षमा कम्पनीले ती संख्यामा कर्मचारी भर्ती गर्ने भएको छ ।

टिकटकको लोकप्रियता बढेसँगै अमेरिकामा कर्मचारीको संख्या बढेको छ । यस वर्षको शुरुमा ५०० भन्दा कम रहेको कर्मचारी संख्या अहिले १ हजार ४०० आसपास पुगेको छ ।

‘सन् २०२० मा टिकटकले अमेरिकामा कार्यरत कर्मचारीको संख्या तेब्बर बनाउने छ, आगामी तीन वर्षमा भने थप १० हजार कर्मचारी भर्ती गर्ने योजना छ,’ कम्पनीका एक प्रवक्ताले भने ।

टिकटक चिनियाँ बहुराष्ट्रिय इन्टरनेट प्रविधि कम्पनी बाइटडान्सको सहायक कम्पनी हो ।

यस वर्षको अन्त्यसम्ममा कम्पनीमा कर्मचारी संख्या १ लाख पुर्‍याउने मार्च बाइट डान्सले भनेको थियो ।

चीनसँगको विवादहरु बढेसँगै अमेरिकाले भने चिनियाँ प्रविधि कम्पनीहरुमा कडाई गरिरहेको छ । अमेरिकाले पछिल्लो समय टिकटकमाथि निशाना साँधिरहेको छ ।

अमेरिकाले बाइटडान्सको म्युजिकल्ली एप खरीद सम्झौताबारे राष्ट्रिय सुरक्षा समीक्षा शुरु गरेको भन्दै गत नोभेम्बरमा अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार छापेको थियो ।

बाइटडान्सले अमेरिकी एप म्युजिकल्ली किनेर यसलाई टिकटकमा गाँभेको थियो ।

अमेरिकाले एपमाथि कडाई गरेसँगै टिकटकले मख्यालयका लागि लन्डन, डब्लिन र सिंगापुरलगायत स्थानहरुबारे सोचिरहेको समाचार बाहिर आएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्