गोविन्दराज जोशीको प्रश्न : रामचन्द्र पौडेल कसरी भए अर्बपती ? - दर्पण संसार

गोविन्दराज जोशीको प्रश्न : रामचन्द्र पौडेल कसरी भए अर्बपती ?

काठमाडौं । आफू हुर्की बढेको र जीवनको लामो समय बिताएको पार्टीले निष्काशन गरेपछि नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले पार्टीलाई पेश गरेको स्पष्टीकरण सार्वजनिक गरेका छन् ।

शनिबार पार्टीले पाँच वर्षका लागि निष्काशन गरेपछि जोशीले पार्टीको केन्द्रीय अनुशासन समितिलाई पेश गरेको स्पष्टीकरण आइतबार सार्वजनिक गरेका हुन ।

जोशीसहित तीनजना नेतालाई पार्टी हित विपरीत कार्यमा संलग्न भएको भन्दै निष्काशन गर्ने निर्णय गरिएको जानकारी कांग्रेसले शनिबार दिएको थियो ।

जोशीले पार्टीमा बुझाएको स्पष्टीकरणमा आफू जन्मदैको कांग्रेस भएको र आफ्नो रगतमै कांग्रेस भएको जवाफ पार्टीलाई दिएका छन् ।

आफू जन्मँदैको कांग्रेस भएको दाबी गर्नुभएका जोशीले प्रतिद्वन्द्वी नेता रामचन्द्र पौडेलमाथि भने उनले कसरी अरबौंको सम्पत्ति कमाए भन्दै प्रश्न गरेका छन् ।

भ्रष्टाचारको आरोप खेपिरहेका नेता जोशीले पौडेललाई पनि औंला ठड्याउँदै पौडेलले आर्जन गरेको सम्पत्तिबारे प्रश्न उठाएका हुन ।

‘रामचन्द्र पौडेल दमौलीमा आउँदा झोला बिसाएर मोही, मकै र चिया खाने मेरो घर थियो । अहिले उनी अरबपति भए । त्यसोभन्दा उनलाई होच्याएको भनी अपमान होला ।

यथार्थ कुरा त्यही हो,’ भन्दै जोशीले दिएको स्पष्टीकरणलाई भने अनुशासन समितिले स्वीकारेन र उनलाई पाँच वर्षका लागि पार्टीबाट निकाल्ने निर्णय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्