औचित्य र आवश्यक्ताका आधारमा संविधान संशोधन - दर्पण संसार

औचित्य र आवश्यक्ताका आधारमा संविधान संशोधन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य र आवश्यक्ताका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् ।

शुक्रबार ‘अ ट्रिटिज अन दी कन्स्टिच्यूसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थिरता र स्थायित्वका नाममा संविधान संशोधन नरोकिने बताएका हुन ।

व्यावहारिकरुपमा संविधान अपूर्ण रहेको देखिएमा संविधानको संशोधन गर्न सकिने उनको भनाइ छ ।

जनताको आवश्यकता र समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउन पनि संशोधन आवश्यक पर्नसक्ने प्रधानमन्त्री ओलीले बताए ।

‘व्यवहारकाक्रममा भोलि गएर केही अपूर्णता पनि देखिएला । जनताको आवश्यकतालाई समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउनका लागि न्याय, समानता वा विकासलाई यथोचित ढंगले परिमार्जन गर्न संविधान संशोधन हुन आवश्यक पर्नसक्छ’(उहाँले भन्नुभयो(‘त्यस्तो पर्‍यो भने संविधान संशोधन हुन्छ । यो अपरिवर्तनशील र असंशोधनीय चिज होइन ।

संविधान दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले प्रणालीगत, संरचनागत र कानुनी पक्षका हिसाबले पनि जनता र देशको आवश्यकताअनुसार संशोधन गर्न सकिने बताए ।

उनले आवश्यक देखिएमा संविधान संशोधनका लागि सबै तयार हुनुपर्ने बताए । उनले संविधान संशोधनका लागि सबैले खुला दिमाग राखेर बिनाबहकाउ तयारी गर्नुपर्नेमा पनि जोड दिए ।

पाँचौं संविधान दिवसको अघिल्लो दिन प्रधानमन्त्री ओलीले ६४६ पृष्ठको ‘अ ट्रिटिज अन दी कन्स्टिच्यूसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्