‘एनआरएनए नेकपाको भातृ संगठन जस्तो भयो, अध्यक्ष अघोषित प्रवक्ता भए’ - दर्पण संसार

‘एनआरएनए नेकपाको भातृ संगठन जस्तो भयो, अध्यक्ष अघोषित प्रवक्ता भए’

काठमाडौं । केही दिन अघि गैरआवासीय नेपाली संघ(एनआरएनए)को दोस्रो विश्व ज्ञान सम्मेलनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई प्रतिनिधित्व नगराएकोमा जनसम्पर्क समिति जर्मनीका अध्यक्ष शिखर खड्काले आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको भर्चुअल सम्मेलनमा गैरआवासीय नेपाली संघको परम्परा र प्रचलन अनुसार प्रतिपक्षी दललाई विषेश प्रतिनिधित्व गराउनुको साटो एकलौटी रुपमा कार्यक्रम गरेकोमा अध्यक्ष खड्काले आपत्ति जनाएका हुन ।

संघको दोस्रो विश्व ज्ञान सम्मेलनको आयोजना गर्दा सत्ता पक्षका प्रधानमन्त्री र परराष्टमन्त्रीलाई मात्र निमन्त्रणा गरि प्रतिपक्षी नेपाली काङ्ग्रेस पार्टीको लोकतान्त्रिक मूल्य र मान्यतालाई अपमान र बिचारको आस्थामा ठेस पुराएको खड्काले बताएका छन् ।

सामाजिक संजाल फेसबुकमार्फत अध्यक्ष खड्काले भनेका छन् ‘संघले सत्ता पक्ष र प्रतिपक्षलाई हेर्ने नजरको दृष्टिकोणमा पूर्वाग्रहीपुर्ण भेदभाव गरेको देखिएको छ। गैरआवासीय नेपाली संघ बिदेशमा बस्ने सबै नेपालीहरुको बिचारको आस्थालाई समानताको दृष्टिको व्यवहार नगरेको प्रत्यक्ष देखिएको र सत्ता पक्षीय प्रभावमा प्रभावित भई प्रतिपक्षी काङ्ग्रेसलाई देखाएको दुर्व्यवहारले नेपाली जनसम्पर्क समिती जर्मनीको ध्यानाकर्षण भएको छ।’

उनले अगाडी लेखेका छन्, ‘नेपालीको लागी नेपाली र सम्पुर्ण बिदेशमा रहने नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघले नेपाल कम्युनिस्ट पार्टीको भातृसंगठनको जस्तो भुमिका निर्वाह गर्नु पुर्णरुपले खेद र निन्दनीय छ।’

‘संघको पुर्वाग्रही पूर्ण व्यवहारको नेपाली जनसम्पर्क समिति जर्मनी घोर भर्त्सना र बिरोध गर्दछ। गैर आवासीय नेपाली संघका अध्यक्षले नेकपा पार्टी र सरकारको अघोषित प्रबक्ताको रूपमा कार्य नगर्न हार्दिक अनुरोध गर्दछ। संघको नेतृत्वले लिखित माफी मागी आगामी दिनमा यस्ता पुर्वाग्रह र भेदभाव व्यवहारपूर्ण गल्ती नगर्ने प्रतिबद्ध पत्रमा हस्ताक्षर गर्न जोडदार माग पनि नेपाली जनसम्पर्क समिती जर्मनी गर्दछ।’

 

 

प्रतिक्रिया दिनुहोस्