२४ घण्टामा ३१ सय ६७ जनामा कोरोना संक्रमण - दर्पण संसार

२४ घण्टामा ३१ सय ६७ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यका मात्रै १४ सय ५१ जना थप

काठमाडौं / पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय ६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबारको नियमित प्रेस ब्रिफिंगमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर १५ हजार ४ सय ३८ जनाको पिसिआर परिक्षण गर्दा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जनामा संक्रमण पुष्टि भएको बताए ।

थप हुनेमध्ये १ हजार ७ सय ४६ जना काठमाडौं उपत्यकाका छन् । जसमध्ये काठमाडौंका १ हजार ४ सय ५१ जना, ललितपुरका १ सय ५२ र भक्तपुरका १ सय ४३ जना छन् ।

शनिबार थपिएका सहित देशभर सक्रिय संक्रमित ३८ हजार ७ सय ३७ पुगेका छन् । जसमा संस्थागत आइसोलेशनमा १३ हजार २ सय ९९ र होम आइसोलेशनमा २५ हजार ४ सय ३८ छन् ।

यस्तै हालसम्म कोरोना निको हुनेको संख्या ८९ हजार ८ सय ४० पुगेको छ । हालसम्म पीसीआर परीक्षण हुनेको कुल संख्या १२ लाख ६९ हजार ६ सय ५ पुगेको छ ।

संक्रमणबाट पछिल्लो २४ घण्टाके अवधिमा मात्रै १२ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७ सय २७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्