११ वर्षअघि साथीको हत्या गरी फरार दुई जना पक्राउ - दर्पण संसार

११ वर्षअघि साथीको हत्या गरी फरार दुई जना पक्राउ

काठमाडौं /११ वर्षअघि ललितपुरको एक इटाभट्टामा काम गर्ने आफ्नै साथीको हत्या गरी फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ११ वर्ष अघिको घटनामा संलग्न ति दुई फरार अभियुक्तलाई बाँकेको नेपालगंजस्थित भारतीय सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर भीमफेदीका भीमसेन गाहा मगर र रामकृष्ण चुनी मगर छन । उनीहरुले २८ वैशाख २०६६ मा ललितपुरको गोदावरी नगरपालिका १३ को आरएम इटा भट्टामा काम गर्ने मकवानपुरको भीमफेदीका डिलबहादुर योञ्जनलाई कोदालीको बिँडले हानी घाइते बनाएका थिए ।

सो क्रममा घाइते भएका योञ्जनको घटनाको भोलिपल्ट वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

योञ्जनको मृत्यूपछि उनीहरु भारतको नयाँदिल्लीमा लुकिछिपी बस्दै आएका थिए । घटनापछि उनीहरु ललितपुरबाट हेटौँडा गएर ट्रक चढी रक्सौल नाका हुँदै भारत गएको प्रहरी अनुसन्धानमा खुलेको छ । नयाँदिल्लीमा रहँदा उनीहरुले परिचयसमेत बदलेर काम गर्दै आएको खुलेको छ ।

पक्राउ परेका दुबैलाई थप कारवाहीका लागि महानगरीय प्रहरी वृत्त चापागाउँमा बुझाइएको ब्युरोका प्रमुख प्रहरी नायव महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्