सुरक्षाकर्मीले दशैंको मुखमा पनि पाएनन प्रोत्साहन भत्ता - दर्पण संसार

सुरक्षाकर्मीले दशैंको मुखमा पनि पाएनन प्रोत्साहन भत्ता

सुरक्षाकर्मीलाई नै झुक्याउँदै छ सरकार

काठमाडौं / कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रण तथा रोकथामका लागि अग्रपंतिमा खटिएका सुरक्षाकर्मीलाई सरकारले प्रोत्साहन भत्ता दिन अझै आनाकानी गर्दै आएको छ ।

कोरोना महामारी सुरु भएको झण्डै सात महिना पुग्नै लाग्दा पनि सरकारले महामारी रोकथाम तथा नियन्त्रणमा खटिएका सुरक्षाकर्मीहरुका लागि आफैंले दिने निणर्य गरेको प्रोत्साहन भत्तामा सुरक्षाकर्मीलाई झुक्याउँदै आएको हो । सरकारले दशैं मुखमै आउँदा समेत सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिने सुरसार गरेको छैन ।

सरकारले मन्त्रिपरिषद्को निणर्यमार्फत सुरक्षाकर्मीहरुलाई अवस्था हेरेर सत प्रतिशत देखि तीन सय रुपैयाँसम्म प्रोत्साहन भत्ता दिने निणर्य गरेको थियो ।

जसअनुसार अग्रपंक्तिमा रहेर पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) लगाएर संक्रमित, संक्रमणको आशंका भएका र क्वारेन्टाइनमा राख्ने व्यक्तिलाई ल्याउने र अस्पतालमा खटिने सुरक्षाकर्मीलाई शतप्रतिशत भत्ता दिने भनिएको थियो ।

यस्तै दोस्रो पंक्तिमा रहेर संक्रमित, आइसोलेसनमा रहेका र आशंका गरिएका विरामीको सुरक्षार्थ खटिएका र पीपीई लगाउन नपर्नेका लागि ५० प्रतिशत भत्ता दिने निणर्य गरेको थियो भने लकडाउन र सामाजिक दूरी कायम गर्न गराउन खटिने सुरक्षाकर्मीलाई दैनिक ३ सय रुपैयाँ दिने निणर्य सरकारबाट भएको थियो ।

तर महामारी सुरु भएको सात महिना पुग्नै लाग्दा समेत नेपाल प्रहरी, नेपाली सेना र ससस्त्र प्रहरी तर्फका तीन वटै सुरक्षा निकायका सुरक्षाकर्मीहरुले सरकारी प्रोत्साहन भत्ता पाउन सकेका छैनन ।

नेपाली सेनाले गत ११ चैतदेखि बैशाख मसान्तसम्मको ३२ करोड ५० लाख र १ जेठ देखि असार मसान्तसम्मको ४० करोड ९४ लाख ८ हजार ३ सय माग गरेको छ । सेनाले चैत देखि असारसम्म्को मात्रै गरी ७३ करोड ४४ लाख माग गर्दै रक्षा मन्त्रालयमा सिफारिस गरेको हो । सरकारले सुरु देखिकै भत्ता नदिएपछि असार यताको भने सेनाले माग गर्न हतार गरेको छैन ।

यसैगरी ससस्त्र प्रहरीले असार मसान्तसम्मको मात्रै १ अर्ब ३० करोड रकम प्रोत्साहन भत्ता माग गरेको छ ।

यसैगरी नेपाल प्रहरीले गत ११ चैत देखि २० जेठसम्मको ७१ दिनको १ अर्ब ३४ करोड ८० लाख ६५ हजार ५४ रुपैयाँ माग गर्दे गृह मन्त्रलयमा सिफारिस गरेको छ ।
गृह मत्रालयका प्रवक्ता चक्रबहादुर बुढाले माग भए बमोजिमको विवरण सहितका विषयमा अर्थ मन्त्रालयमा जानकारी गराइएको तर अर्थ मन्त्रालयबाट थप जवाफ नआएको जनाए ।

‘गृहले माग भए बमोजिको प्रस्ताव आवश्यक प्रक्रियाका लागि अर्थ मन्त्रालय पठाएको हो, थप जवाफ अएको छैन,’ गृह प्रवक्ता बुढाले भने ।
रक्षा मन्त्रालयले समेत सेनाको प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको बताउँछ ।

‘हामीले प्रस्ताव अर्थ मन्त्रालयमा पठएका छौं, केही प्रगती भएको जानकारी भएन,’ रक्षा मन्त्रालयका एक अधिकारीले भने ।

हालसम्म कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा खटिएका तीनै सुरक्षा अंगका गरी १० हजार ३० जना सुरक्षाकर्मी कोरोना संक्रमणमा परेका छन ।

नेपाल प्रहरीका मात्रै ५ हजार ३ सय २९ जना कोरोना संक्रमित भइसकेका छन । उनीहरु मध्ये ३ हजार २ सय ४४ जना निको भइसकेका छन भने २ हजार ८५ जना अझै उपचाररत छन ।

यसैगरी नेपाली सेना तर्फ ३ हजार २ सय ४४ जना संक्रमित भएका छन भने १ हजार ७ सय ६७ जना उपचारपछि निको भएर काममा फर्किएका छन । सेना तर्फ हाल १ हजार ४ सय ७५ जना उपचाररत छन भने दुई जनाको कोरोना संक्रमणकै कारण निधन भएको छ ।

यस्तै ससस्त्र प्रहरी तर्फ हालसम्म १ हजार ४ सय ५६ जना कोरोना संक्रमित भएका छन भने १ हजर १ सय ३१ जना उपचारपछि नियमित काममा फर्किएका छन ।

प्रतिक्रिया दिनुहोस्