सस्तो लोकप्रिय एजेन्डाले एनआरएनए चल्दैन - दर्पण संसार

सस्तो लोकप्रिय एजेन्डाले एनआरएनए चल्दैन

-चिरञ्जीवी ढकाल


गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष डा.उपेन्द्र मह्तोसहित हामीले गठन गरेको यस संस्थाको विश्वसम्मेलन हिन्दूहरुको महान चाड दशैं र तिहारको वीचमा पार्ने गरी निर्णय गरेका थियौं । नेपालमा परिवारसँग बस्न मन हुँदाहुँदै बिभिन्न (अध्ययन, जागिर वा व्यापार) कारणले नेपालमा छाडने प्रवासी नेपालीहरुलाई परिवार, नातागोता र साथीहरुसँग भेटघाट हुनेगरि धेरै सल्लाहपछि दशैं र तिहारका जस्ता ठूला चाडका वीचमा गैरआवासिय नेपाली संघको सम्मेलन राख्ने निधो गरिएको थियो । विश्वभरका नेपालीहरु एकै ठाउँमा जम्मा हुने आत्मिय सम्मेलन नै हो । हाम्रो इस्टमित्रसँग भेटघाट गर्न नै सम्मेलन प्रमुख मध्येको एक आकषर्ण हो । यो सम्मेलन नेपालमा गर्दा होटल व्यवसाय क्षेत्रमा आर्थिक सहयोग पनि हुन्छ ।

रोजगारी, अध्ययन वा व्यापारको सिलसिलामा मातृभूमी छाडेर प्रवासमा गएका हामी गैरआवासीय नेपालीहरु नेपालमै जम्मा भएर खुशी साटासाट गरि मनाउने र सम्मेलन पनि गर्ने उद्देश्यले काम गरिरहेका थियौं । १७ बर्षको यो दौरानमा प्रविधिले विश्वभर फड्को मारेको छ । निर्वाचनका नयाँ नयाँ प्रणालीहरु संसारभर आइरहेका छन । गैरआवासीय नेपालीहरुले पनि विस्तार समय सापेक्ष यस्ता प्रणलीसँग अभ्यस्त हुँदै जानुपर्छ । प्रविधिको विकाससँग हामी अघि बढेनौ भने संस्था काम लाग्ने हुन सक्दैन । संस्था गठनको मूल्य मान्यता नै त्यागेर प्रविधिलाई अपनाउनु भन्दा पनि मूल मर्मलाई सहयोग पुग्ने गरी काम गर्नुपर्छ । विश्वसम्मेलन दई दुई बर्षमा नेपालमा हुने भएकाले नै बार्षिक रुपमा क्षेत्रिय सम्मेलनहरु नेपाल बाहिर भएका हुन ।

दुई साता अघि एनआरएनए बैठकले निशुल्क सदस्य वितरण, प्रतिनिधिले निशुल्क भोट हाल्न पाउने, निर्वाचन प्रणाली परिवर्तन गर्ने र एमआईएस सिस्टममा गएर संसारभरका सदस्यहरुको डाटा एउटै प्रविधि मार्फत काम गर्ने कुराहरु सुन्दा राम्रो लागे पनि यस बिषयमा विस्तृत अध्ययन गर्नुपर्ने देखिन्छ । निशुल्क सदस्यता दिदा ती सदस्यहरुमा संस्थाप्रति स्वामित्व हुन्छ कि हुँदैन ? निर्वाचन प्रणाली बदल्ने वित्तिकै सवै राम्रो हुन्छ त ? यस्ता प्रश्नहरुको जवाफ खोज्नु जरुरी छ ।

संस्था गठन हुँदाका उद्देश्य अहिले बिस्तारै परिवर्तन भैरहेको आवास मैंले गरेको छु । एकतिर निशुल्क सदस्य वितरण गर्ने र प्रतिनिधिले भोट हाल्नु अघि तिर्दै आएको २० हजार तिर्नु नपर्ने प्रस्ताव अहिलेको कार्यसमितिका अध्यक्ष कुमार पन्त र महासचिव हेमराज शर्माले मिडिया मार्फत बाहिर ल्याए ।

उहाँहरु दुवै गरेको प्रस्ताव सुन्दा जो कोहीले राम्रो भन्छन । सुन्दा मलाई नि राम्रो लाग्यो । तर, हामीले एजेण्डा वा प्रस्तावका बारेमा विस्तृत रुपमा बुझेर मात्र धारणा बनाउनु पर्छ । किनकी कुनै पनि संस्था जीवन्त रहनका लागि धेर वा थोर पैसाको खाँचो पर्दछ । त्यसको आम्दानी वा खर्चका बारेमा हरेक गैरआवासीय नेपालीले थाहा पाउनु पर्दछ । जीवन्त चलिरहने संस्थाको गठनको उद्देश्य र यसको दीगोपन नै प्रमुख कुरा हो ।

एनआरएन नेतृत्वमा जान लाखौ तिर्नुपर्छ

अहिले पनि एनआरएनए आईसिसि सदस्य भएपछि संघका एक हजार डलरको लेवि बुझाउनु पर्छ । त्यसवाहेक संघको सम्मेलनका विभिन्न पदमा उम्मेदवार दिने व्यक्तिहरुले लाखौ रुपयाँको उम्मेदवारी शुल्क तिर्नु पर्ने प्रावधान छ । त्यस बिषयमा वैठकले केही निर्णय गरेको छैन । अझ बुझ्ने भाषामा भन्ने हो भने निशुल्क सदस्यता पाए पनि नेतृत्वमा पुग्नलाई तपाई हामी पैसा नहुने एनआरएनएहरु त्यहाँ पुग्ने स्थिति छैन । उहाँले त्यो कुरालाई तपाईहरु समक्ष लुकाउनु भएको छ ।

अन्य देशको तुलनामा मध्यपूर्व वा खाडी मुलुकमा रोजगारीका लागि जाने मजदुर दाजुभाई वा दिदीवहिनीहरु (एनआरएनए)का लासहरु आर्थिक अभावकै कारण नेपालमा महिनौसम्म परिवारजन समक्ष पुग्न सकेको छैन ।

यो सामाजिक संस्था परोपकारी भावनाले एकले अर्कालाई सहयोग गर्दै चल्दै आएको छ । अझ भनौ, नेपालीद्वारा नेपालीहरुलाई नै सहयोग गर्दै यो एनआरएनए यहाँसम्म आएको हो । १७ बर्षको इतिहासमा गत बर्ष एनआरएनए टाट पल्टेर अध्यक्ष कुमार पन्त (तत्कालिन उपाध्यक्ष) कुल आचार्य (तत्कालिन उपाध्यक्ष) हालका सचिव गौरीराज जोशीलगायतका ऋण स्वरुप सहयोग दिएको तपाईहरुलाई थाहै होला । यस्तो अवस्थाका एनआरएनएलाई विना पैसा दौडाउछु भन्ने कुरा विश्वास योग्य छैन ।

सस्तो लोकप्रियता केही दिनका लागि होला । आउने दिनमा एनआरएनएले कुनै आर्थिक संकलन गर्न सकेन भने हामीले दुखले बनाएको संस्था कुनै व्यापारीललाई पदमा ल्याएर बिक्री गर्नु पर्ने अवस्था आउँछ । अहिले आएको प्रस्तावलाई हामीले स्वीकार गर्यौं भने व्यापारीको संस्था बन्ने निश्चित छ । जो सँग पैसा छ उसले एनआरएनए कव्जा जमाउँछ । तपाई र हाम्रो व्यक्तिगत विवरण विक्री गरेर ठुला कर्पोरेट हाउस, होटल वा एयरलाइन्सले सजिलै केही प्रतिशत छुट दिन सक्छ । यो संस्था एक व्यापारीले अर्को व्यापारीलाई विक्री गर्दै जान्छ ।

हामी एनआरएनए सदस्यहरु बिक्रीका साधान मात्र हुन्छौं । काठमाडौंमा रहेको कार्यालको खर्च बार्षिक मात्रै करीव एक करोड ६० रुपैयाँ छ । बल्ल बल्ल हाम्रो श्रमले खरीद गरेको घरको भविष्य अदालको हातमा छ । यस्तो अवस्थामा सस्तो र लोकप्रिय नाराकापछि लाग्नु भन्दा विस्तृत अध्ययन गर्न दिऔं । अध्ययनका निष्कर्ष माथि विश्वभरका एनआरएनएवीच छलफल गरौं । अनि जे निष्कर्ष आउँछ त्यसलाई अबलम्बन गरौं ।

८४ वटा एनआरएनएका राष्ट्रिय समन्वय समिति छन । ती एनआसिसिहरु पनि नेपाली समुदायले आर्थिक सहयोग गरेर चलेका छन । उल्टो संघलाई सम्मेलनता दुई दुई बर्षमा पैसा बुझाउनु परेकै छ । तिनका खर्चहरु कसरी चल्छन । त्यो पनि अध्यन गरौं । सदस्यता सित्तैमा दिदा स्वामित्व ग्रहण गर्न मानिसले सक्दैन । कालान्तरमा यसको अबमूल्यन हुन थाल्छ । त्यसैले कम्तिमा एक वा दुई डलरमा सदस्यता वितरण गरौं । त्यसो गर्दा कार्डको प्रिटिङ र पोस्टेज मूल्य उठछ ।

विशेष अधिवेशन असंभव

नवौं सम्मेलनमा विभिन्न कारणले आर्थिक प्रतिवेदन पारित हुन सकेन । तीन महिना, ६ महिना भन्दै झण्डै आधा कार्यकाल सकिन लाग्दा समेत बिशेष गर्न सकिएन । कोभिड(१९ महामारीका कारण विशेष अधिवेशन गर्न गाह्रो परेको सर्वविदितै छ । अहिले पनि महामारीको अवस्था छ । यस्तो परिस्थितिमा ‘भर्चुअल’ विशेष अधिवेशन गर्ने प्रयास अहिले संस्थापनबाट हुन सक्छ । भौतिक रुपमा उपस्थित हुन नसक्ने अवस्थामा ‘भर्चुअल’ बिशेष अधिवशेन गर्न दिनु हुँदैन ।

अबका केही महिनाहरुमा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन हुन थाल्छन । यस्तो अवस्थामा बिशेष अधिवेशनतिर नलागि १० औं राष्ट्रिय सम्मेलनको तयारीमा लाग्नु पर्छ । कोरोना महामारीको संक्रमणमा धेरै मानिसहरुवीच भेटघाट पनि संभव छैन । प्रवासका धेरै मुलुकहरुले अत्यावश्यक काम बाहेक मानिसहरुलाई जम्मा हुन दिएका छैनन । त्यसलाई हामी सवैले मान्नै पर्ने हुन्छ । त्यसकारण यो अव्यहारिक काम तिर लाग्नु हुँदैन ।

निर्वाचन पद्धती

हामीले १७ बर्ष अपनाएको निर्वाचन प्रणालीमा कमजोरी छ भने खोज्नुपर्छ । त्यो भनेको विशेषज्ञद्वारा विस्तृत अध्ययन गराउनु नै हो । भबिष्यमा उम्मेदवार नहुने व्यक्तिहरु सम्मिलित एक टोली बनाएर यसका नकारात्मक पक्षहरु हटाउ । यो पद्धतीबाट नकारात्मक पक्ष हटाउन सकिदैन भने परिवर्तन गरौं । आफैं प्रस्ताव ल्याउने अनि आफैंले राम्रो छ भन्दै प्रचार गर्दै हिडनुपर्ने लाजमर्दो अवस्था बन्द गरौं ।

विश्वभरका एनआरएनएहरुलाई विश्वास गरेर उहाँहरुको विचार बुझौं । विश्वभरका हामी एनआरएनए सदस्यहरु प्रत्यक्ष निर्वाचन चाहन्छौं भने प्रत्यक्ष निर्वाचन र अनलाइन भोटिङ जाऔं । संस्थापक मध्येका हामी प्रायः अहिले बाहिर छौं। तपाई कार्यसमितिका पदाधिकारीहरु पनि भोली हामी जस्तै बाहिर हुनुहुनेछ । एनआरएनएको उद्देश्य माथि खेलबाड नगरौं । सके राम्रो बनाउ नसके अहिलेको अवस्थामा छाडिदिनु होस । शक्ति दुरुपयोग नगरौं । जय एनआरएन !

 

"

प्रतिक्रिया दिनुहोस्