सरकारले एक अर्ब रुपैयाँमा किनेको रेल नेपाल आइपुग्यो - दर्पण संसार

सरकारले एक अर्ब रुपैयाँमा किनेको रेल नेपाल आइपुग्यो

काठमाडौं । लामो प्रतीक्षापछि भारतले नेपाल रेल विभागलाई जयनगर–जनकपुरधाम चल्ने रेल हस्तान्तरण गरेको छ ।

भारतको हाजीपुरमा किनेर राखेको दुई सेट रेल शुक्रबार जयनगर हुँदै जनकपुरधाम आइपुगेको हो ।

भारतीय रेल कम्पनी कोकन रेलवे कर्पोरेसन लिमिटेडका प्रतिनिधि इन्जिनियर दीपक त्रिपाठीले विभागका महाप्रबन्धक गुरु भट्टराईलाई रेलका सम्पूर्ण सामग्री हस्तान्तरण गरे ।

हस्तान्तरण गर्नुअघि १३ सय यात्री बोक्नसक्ने क्षमतासहितको दुईओटा इन्जिन, एसी र जेनरलसहितका तीनओटा बोगी भएको रेल जनकपुरधाम ल्याएर परीक्षण गरिएको हो ।

एक अर्ब रुपैयाँको लागतमा किनिएको दुवै सेट रेलको ट्रायल गरिएको छ भने चाँडै नै सर्वसाधारणका लागिसमेत रेल सञ्चालनमा ल्याउने तयारी भइरहेको रेल विभागका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।

दुवै रेलको सेटलाई अत्याधुनिकरुपमा डिजाइन गरिएको छ । भारतमा चल्ने इन्टर सिटी एक्सप्रेसजस्तै डिजाइन सो रेलको गरिएको छ ।

अगाडि(पछाडि दुवैतर्फ इन्जिन लगाइएकोले ओहोर(दोहोर गर्नका लागि इन्जिन फेरबदल गर्नुपर्ने झन्झट नरहने बताइएको छ ।

कोरोना संक्रमणको कारण अहिले रेल सर्वसाधारणका लागि सञ्चालनमा ल्याउनु घातक रहेको महाप्रबन्धक भट्टराईले बताए ।

कोरोना संक्रमण न्यून हुँदै गएपछि डेढ महिनाभित्रै सर्वसाधारणका लागिसमेत रेलवे सञ्चालनमा ल्याउने योजना रेल विभागको छ ।

हाल नेपालमा सो रेल चलाउन प्राविधिक नरहेको अवस्थामा भारतसँगै समन्वय गरेर सञ्चालनमा ल्याउने तयारी रहेको बताइएको छ ।

नेपालले माग गरेअनुसार अन्तर्राष्ट्रियस्तरको मापदण्डमा तयार पारिएको यो अत्याधुनिक रेल रहेको भारतीय रेलवे कम्पनी कोकन रेलवे कर्पोरेसन लिमिटेडका इन्जिनियर दीपक त्रिपाठीले जानकारी दए ।

लामो प्रतीक्षापश्चात् जनकपुरधाम आएको अत्याधुनिक रेल हेर्न हजारौंको संख्यामा मानिसहरु रेलवे स्टेसन पुगेका थिए । रेल जनकपुर आएपछि स्थानीय निकै उत्साहित देखिएका छन् ।

रेल सञ्चालन नहुन्जेलसम्म नेपालकै जयनगरस्थित स्टेसनमा सुरक्षा घेराबीच राखिनेछ ।

जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म रेल चलाउने सरकारको योजना रहेपनि हाल जयनगरदेखि जनकपुरधाम, कुर्थासम्ममात्र सञ्चालन हुनेछ । कुर्थादेखि बर्दिबाससम्म रेलवे ट्रयाक र प्लेटफार्मको निर्माणकार्य जारी रहेको छ 

 

 

प्रतिक्रिया दिनुहोस्