समान शिक्षामा तेस्रोलिङ्गीलाई असमान व्यवहार - दर्पण संसार

समान शिक्षामा तेस्रोलिङ्गीलाई असमान व्यवहार

-कैलाश श्रेष्ठ ‘भूमिका’ 

नेपालमा एउटा नारा छ ‘सबैका लागि शिक्षा’ । हुन पनि शिक्षालयमा गएर शिक्षा लिने अधिकार सबैलाई छ । शिक्षकलाई पनि समान शिक्षा प्रदान गर्ने दायित्व छ । सबै विद्यार्थीलाई समान व्यवहार गर्ने र समान शिक्षा प्रदान शिक्षकको गहन जिम्मेवारी हो । तर यहाँ प्रसङ्ग अलिक भिन्न छ । व्यवहार र अधिकार मात्र काफी छैन भन्ने बुझ्नुपर्ने पनि बेला आएको छ । किनकी शिक्षालयमा गरिने व्यावहार र हेर्ने दृष्टिकोणले पनि शिक्षाको समानतालाई छुट्टाउँदो रहेछ । त्यही व्यवहार र हेर्ने दृष्टिकोणको फेरोमा परेर थुप्रै विद्यार्थीको पढन पाउने अधिकार गुमेको छ । त्यस्ता केही पात्रहरु हाम्रै समाजमा लुकेर बसेका छन । जसको पढाइ विचमै तोडिएको छ र शिक्षा लिने अधिकार ओझेल परेको छ ।

त्यस मध्येका एक पात्र हुन दर्ना गाविस–३ अछामका भक्ति शाह । शाह कक्षा पाँचसम्म विद्यालय धाउँदा त वातावरण सामान्य नै थियो । तर जव उनको शरीरमा परिवर्तन आउन थाल्यो अनि हाउभाउ बदलिन थाल्यो तब उनलाई साथीसंगी तथा समाजले हेयको दृष्टिले हेर्न थाले र गिज्याउन थाले । जन्मदा छोरी जस्तो अनि उमेर बढदै गएपछि छोराको जस्तो हाउभाउ हुन थालेपछि समस्या पर्‍यो ।

‘विद्यालय त गइन्थ्यो तर साथीभाइ तथा शिक्षकले नै म प्रति गर्ने व्यवहार बदल्न थाले,’मेरो आचरण र हाउभाउमा परिवर्तन आउन थालेपछि सिङ्गो समाजले नै म प्रति आँखा बदल्यो, उनले भने । शाह भन्छन–‘स्कुलका साथीहरुले पनि कुरा काटने, हेलाहोचो गर्ने तथा अनेकथरी भनेर गिज्याउन थालेपछि मानसिक तनावले पढने इच्छा हराउँदै गयो ।’

पढने र स्कुल धाउने समय समाजको तिरस्कारमा बित्यो शाह दुखेसो पोख्छन । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय अन्तर्गत आफूलाई तेश्रो लिङ्गी भएको स्विकार्ने उनी तेश्रो लिङ्गी भएकै कारण घर परिवार, समाज र विद्यालयबाट समेत अपहेलित भएरै शाहको विगतको दैनिकी बित्यो । सामान्यतः महिला र पुरुष भन्दा फरक लैङ्गिक पहिचान भएर यसरी अपहेलित हुने उनी एक प्रतिनिधि पात्र मात्र हुन । यस्तै तनावका विच उनको पढाई बीएसम्म उक्लिएको छ ।

यस्तै सामाजिक विभेदको शिकार भएर मकवानपुरको एक गाउँबाट २०६८ कार्तिक १६ गते लखेटिएका सुनिता ढकाल र सुदिप गौतमको पनि आफ्नै वेदना छ । सुनिता समलिङ्गी महिला हुन भने सुदिप तेश्रो लिङ्गी हुन् । नेपालमा फेरिदो राजनीतिक परिस्थितिसँगै समाजमा यौनिक अल्पसंख्यक रुपमा रहेका व्यक्तिहरु धमाधम खुलेर देखा पर्न थालेका छन । आफ्नो अधिकार खोज्दै समाजका देखिएका व्यक्तिहरु शिक्षा पाउने नैसर्गिक अधिकारबाट भने बन्चित नै छन ।

के छ शिक्षामा

मुलुकमा पछिल्लो राजनीतिक परिवर्तन सँगै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय आफ्नो पहिचान अनुरुप समाजमा देखिन थालेपछि यसतर्फ सम्बन्धित निकायको ध्यान गएको पाइन्छ । तर पनि यस समुदायको शैक्षिक अवस्था सुध्रिन सकेको छैन । सरकारले पनि यस समुदायलाई समेटने गरी २०६९ सालमै नयाँ पाठ्यक्रम समेत तयार पारेको छ । पाठ्यक्रम लागु गर्ने र त्यसलाई कार्यान्वयन गर्ने विषयमा सरकार गम्भिर छैन । साथै प्रोत्साहन स्वरुप शिक्षाका लागि नयाँ व्यवस्था छैन । जसले गर्दा यस समुदायका व्यक्तिहरुमा निरासा बढदो छ ।

संस्थागत प्रयास

तेश्रो लिङ्ग/समलिङ्गी समुदायका पक्षमा कार्यरत संस्था ब्लु डाइमण्ड सोसाइटीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको शैक्षिक स्तर उकास्न ठोस कार्यक्रम तयार पार्न नसकेपनि प्रयासहरु गरिरहेको छ । निजी विद्यालय तथा क्याम्पसहरुमा पहिचान खुलाएर आएका समुदायका विद्यार्थीहरुलाई अध्ययन गर्ने उचित वातावरण तथा छात्राबृत्तिको व्यवस्था गर्न यौनिक तथा लैङ्गिक विद्यार्थी मञ्चले आवाज उठाइरहेको छ ।

नेपालमा करिब नौं लाख यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरु छन् । जसमा एक लाखको हाराहारीमा मात्र समाजमा खुलेर देखा परेको सोसाइटीको अनुमानित तथ्याङ्क छ । हजारौं संख्यामा यस सुदायका व्यक्तिहरुले आफ्नो पहिचान खुलाएर समाजमा स्थापित हुन सकेका छैनन । जसका कारण शिक्षामा पनि पछि परेका छन । साथै नेपाली समाज पनि सचेत हुन नसक्दा र यस समुदायलाई सहज तथा समान हैसियतले स्विकार्न नसकेका कारण शैक्षिक अवस्था सुध्रन सकेको छैन । समाजमा अझै पनि यस समुदायका व्यक्तिहरुलाई ‘छक्का’, ‘हिजडा’, ‘अप्राकृतिक’ भनेर हेलाहोचो गर्ने परम्परा कायमै छ । यसले गर्दा सामाजिक तथा शैक्षिक रुपमा अगाडी बढन समस्या परेको यस समुदायका क्षेत्रमा कार्यरत अधिकारकर्मीहरु बताउँछन ।

प्रतिक्रिया दिनुहोस्