सनसिटी अपार्टमेन्टमा बस्ने सबैको कोरोना टेष्ट हुने, ए ब्लकमा बस्नेहरुको ‘रिपोर्ट नेगेटिभ’ - दर्पण संसार

सनसिटी अपार्टमेन्टमा बस्ने सबैको कोरोना टेष्ट हुने, ए ब्लकमा बस्नेहरुको ‘रिपोर्ट नेगेटिभ’

काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टको ‘ए’ ब्लकमा बस्नेहरुको र्‍यापिड डायग्नोस्टिक टेस्ट ९आरडीटी० गरिएको छ ।

बुधबार २९८ जनाको आरडीटी गरिएकामा सबैको ‘रिपोर्ट नेगेटिभ’ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

बेलायतबाट फर्केर अपार्टमेन्टको ‘ए’ ब्लकमा बस्दै आएका एकै परिवारका ८१ वर्षीया आमा र ५८ वर्षीय छोरामा कोरोनाभाइरस पुष्टि भएपछि त्यहाँ बस्ने २९८ जनाको आरडीटी गरिएको हो ।

दुईजनामा भाइरस पुष्टि हुँदा सो परिवारकी बुहारीको परीक्षण फेरि पनि ‘नेगेटिभ’ नै आएको डा. देवकोटाले बताए ।

उनले उनीहरुकहाँ काम गर्ने दुईजना सहायकको स्वाब परीक्षण गर्ने तयारी भइरहेको बताए ।

यता, कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख कृष्णहरि थापाले अपार्टमेन्टका बाँकीको पनि परीक्षण गरिने बताए ।

उनले अपार्टमेन्टका बाँकी ब्लकका व्यक्तिहरुको बिहीबार परीक्षण गरिने बताए ।

आफूले अपार्टमेन्टका सबैको परीक्षण गर्नुपर्ने माग गरेपनि स्वास्थ्य मन्त्रालयले कतिजनाको गर्ने हो, टुंगो नभएको प्रमुख थापाको भनाइ छ ।

प्रहरीले उक्त अपार्टमेन्टलाई ‘सिल’ गरेको छ भने कोलोनीसमेत बन्द गरेको छ ।

सनसिटी अपार्टमेन्ट ‘लक’ गरिएपछि दैनिक उपभोग्य वस्तु किनमेल गर्नका लागि वैकल्पिक प्रबन्ध गर्न अपार्टमेन्टमा बस्नेहरुले आग्रह गरेका छन् ।

पाँचओटा ब्लक रहेको अपार्टमेन्टमा करिब ५०० परिवार बस्दै आएका छन् । प्रत्येक ब्लकमा १६/१६ तल्ला छन् भने एउटा तल्लामा ६ परिवार बस्छन् ।

प्रतिक्रिया दिनुहोस्