संक्रिय संक्रमित २५ हजार नाघे फेरि लकडाउन गर्न सिफारिस - दर्पण संसार

संक्रिय संक्रमित २५ हजार नाघे फेरि लकडाउन गर्न सिफारिस

काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघे फेरि लकडाउन गर्न सिफारिस गरेको छ ।

बुधबारको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे फेरी लकडाउन गर्न सिफारिस भएको बताएका हुन ।

गौतमका अनुसार मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले २५ हजार बढी सक्रिय संक्रमित पुग्दा अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने भन्दै लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजारभन्दा माथि छ ।

बैठकले कोरोना संक्रमणको दर बढिरहेकोले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने सेवा र व्यवसायहरु कम्तिमा १ महिना नखोल्न सिफारिस गर्ने निणर्य समेत गरेको प्रवक्ता गौतमले प्रेस ब्रिफिङका क्रममा बताएका हुन ।

बुधबार मात्रै काठमाडौं उपत्यकामा ६ सय ३७ सहित देशभर १ हजार १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै देशभर कुल संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको छ ।

हाल देशभरका विभिन्न अस्पतालहरुमा २ सय २० जना आईसीयू र ४३ जना भेन्टिलेटरमा छ । यस्तै हाल क्वारेन्टिनमा ७ हजार १ सय ४ जना छन भने कोरोना निको हुनेको संख्या ४९ हजार ९ सय ५४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्