श्रीमानको मृत्युपछि सासु–ससुरा र नन्दको क्रुरता: यसरी भयो बुहारीको हत्या - दर्पण संसार

श्रीमानको मृत्युपछि सासु–ससुरा र नन्दको क्रुरता: यसरी भयो बुहारीको हत्या

काठमाडौं । बुहारीको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ४ जनालाई मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मलेन गरी ५८ वर्षीय ससुरा प्रकाश थापा, ५५ वर्षीया सासु तुलसा थापा र नन्दहरु २७ वर्षीया दुर्गा थापा र २३ वर्षीया सीता थापालाई सार्वजनिक गरेको हो ।

घरायसी विवादका साथै मानसिक यातना, यौनजन्य कारण र आर्थिक कुरा हत्याको कारण रहेको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक सुशीलसिंह राठौंरले जानकारी दिए ।

ससुरा प्रकाश र नन्द सीतालाई हत्या गरेको आरोप लागेको छ भने सासु तुलसा र नन्द दुर्गालाई हत्यामा सहयोगी भूमिका खेलेको आरोप लागेको छ ।

गत असार २ गते हेटौंडा उपमहानगरपालिकास्थित सूर्यचोकमा २४ वर्षीया सुस्मिता केसी हत्या भएको थियो । ससुरामाथि बुहारीलाई बलात्कार प्रयास गरेको आरोपसमेत लागेको छ ।

घर परिवारले काठको लौरो र ढुङ्गा प्रहार गरी बुहारीको हत्या गरी आत्महत्या गरेको भन्दै प्रहरीलाई खबर गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तो छ हत्याको कारण
सुस्मिताका श्रीमान रूपेन्द्र थापाको सवारी दुर्घटनामा मृत्यु भएपछि उनका परिवारले सुस्मितालाई मानसिक यातना दिन थालेका थिए।

सुस्मिताका कारणले रूपेन्द्रको मृत्यु भएको परिवारका सदस्यहरूले उनलाई पटकपटक आक्षेप लगाउने र मानसिक तनाव दिने गरेको पाइएको प्रहरीको भनाई छ।

यस्तै रूपेन्द्रको मृत्युपछि क्षतिपूर्ति वापत पाउने ५ लाख रुपैयाँ सुस्मिताले बुझेकी थिइन्। परिवारका अरु सदस्यले आफैं पाउनुपर्ने भन्दै विबाद गरेका थिए।

रूपेन्द्रले काम गर्ने क्लोजर सिस्टम इन्टरनेसनल नेपाल प्रालि हेटौंडाबाट उनको मृत्युपछि पाउने बीमा, बोनस, तलब भत्ताको बाँकी रकम वापत ३८ लाख २८ हजार ४७२ रुपैयाँ भुक्तानी लिने विषयमा पनि विवाद भएको थियो।

भुक्तानी लिने विषयमा हकवालाहरू बाबु प्रकाश थापा, आमा तुलसा कुमारी थापा र श्रीमती सुस्मिता क्षेत्री थापा बीच विवाद भएकै कारण हालसम्म भुक्तानी हुन नसकेको पाइएको छ।

सामाजिक सुरक्षा कोषबाट २०७६ साल कात्तिकदेखि २०७७ वैशाखसम्म मासिक १७ हजार १ सय रुपैयाँका दरले एक लाख ७७ हजार ९४८ रुपैयाँ सुस्मिताको खातामा जम्मा भएको पाइएको छ।

नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीबाट रुपेन्द्र थापाको १० लाखको बचत अमृत सावधिक जीवन बिमालेख दाबी भुक्तानी बापतको १० लाख ६३ हजार ९१४ रुपैयाँ भने ईच्छाईएको व्यक्ति उनका बुबा प्रकाश थापाले लिईसकेको पाइएको छ।

तर रुपेन्द्रका परिवारले सुस्मितालाई पाउन बाँकी सबै रकम निकालेर घरमा ससुरालाई दिनुपर्छ भनेर बारम्बार दवाव दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

मुलुकी फौजदारी अपराध संहिता, २०७४ को दफा ४१क बमोजिम क्रुर यातना दिई ज्यान मारेको कसुरमा जीवित रहेसम्म कैद हुने व्यवस्था छ।

डीएसपी रानाका अनुसार सुस्मिताले पछिल्लो केहि समयदेखि आफूप्रति परिवारका सदस्यले गर्ने हर्कतबारे नोट गर्ने गरेको र त्यस्ता गतिबिधिबारे आफ्ना नजिकका मिल्ने साथिहरुसँग समेत बताउने गरेको पाइएको छ।

उनको त्यो नोट समेत फेला पारेको प्रहरीले त्यसलाई पनि अनुसन्धानका लागि आधार बनाइरहेको छ।

परिवारका सदस्यहरुले उनीहरुबिरुद्धको किटानी जाहेरी अनुसार नै वयानका क्रममा हत्या स्वीकार गरिसकेको र हालसम्म प्राप्त प्रमाणहरु हेर्दा उनीहरुमाथि हत्या अभियोग पुष्टि हुने प्रहरीले विश्वास गरेको छ।

प्रतिक्रिया दिनुहोस्