वैशाख १५ गतेसम्म लकडाउन, १८ गतेसम्म उडान बन्द - दर्पण संसार

वैशाख १५ गतेसम्म लकडाउन, १८ गतेसम्म उडान बन्द

काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले थप १२ दिन ‘लकडाउन’ लम्ब्याउने निर्णय गरेको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाभाइरस संक्रमण नियन्त्रणको लागि देशभर जारी लकडाउन पुनः १२ दिन थपेर वैशाख १५ गतेसम्म कायम गर्ने निर्णय गरेको हो । सीमानाकाहरु वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गरेको थियो । लकडाउनअघि नेपालमा कोरोना संक्रमितको संख्या दुईजना थियो ।

तर, कोरोनाभाइरसको जोखिम बढ्ने देखिएपछि सरकारले एक हप्ताको लागि गरेको लकडाउन बढाएर पहिलोपटक चैत २५ गतेसम्म र दोस्रोपटक थप एक हप्ता बढाएर वैशाख ३ गतेसम्म पुर्‍याएको थियो ।

कोरोना महामारीको जोखिम थप बढ्ने देखेपछि सरकारले तेस्रोपटक लकडाउनको समयसीमा बढाएर वैशाख १५ गते पुर्‍याएको छ । अहिले नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

यस्तै, सरकारले अलपत्र परेका नागरिकलाई आवतजावत गर्न दिँदा लकडाउन खुकुलो हुने भएकाले थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

यसअघि, सरकारले अन्तर्राष्ट्रिय उडानहरु वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो । त्यस्तै, चैत १३ देखि बन्द रहेको आन्तरिक उडान बन्द गर्ने समय वैशाख १८ सम्म लम्ब्याएको छ ।

प्रतिक्रिया दिनुहोस्