विश्वभर २० देशमा रहेका नेपालीलाई कोरोना संक्रमणः ‘सयौं नेपाली खुल्नै चाहेनन्’ - दर्पण संसार

विश्वभर २० देशमा रहेका नेपालीलाई कोरोना संक्रमणः ‘सयौं नेपाली खुल्नै चाहेनन्’

काठमाडौं । कम्तीमा २० देशमा रहेका नेपालीमा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयको विवरणमा भारतसहित ती देशहरूमा पुष्टि भएका सङ्क्रमितको नेपालीको सङ्ख्या करिब दुई सय रहेको उल्लेख छ।

कतिपय देशबाट तथ्याङ्क नपाइएको उल्लेख गरिएको विवरणमा अमेरिका, ब्रिटेन र खाडी देशमा रहेका नेपालीहरू कोरोनाभाइरसका कारण बढी प्रभावित भएको देखिन्छ।

वासिङ्टन डिसीस्थित नेपाली राजदूत अर्जुनकुमार कार्कीले परिवार र समुदायमा नराम्रो सन्देश जाने कारणले कैयौँ नेपालीहरू खुल्न नचाहेकाले वास्तविक विवरण पाउन नसकिएको बीबीसीलाई बताए।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले नेपाली समुदाय र स्थानीय सरकारसँग सम्पर्कमा रहन र सुरक्षाका उपाय अपनाउन विदेशस्थित नियोगहरूलाई निर्देशन दिइएको बताएका छन्।

मङ्गलवार साँझसम्म नियोगहरूले परराष्ट्र मन्त्रालयलाई पठाएको विवरणले हालसम्म सबैभन्दा धेरै सङ्क्रमित नेपालीहरू अमेरिकामा रहेका रहेको देखाउँछ।
स्थानीय कानूनले बिरामीको जानकारी गोप्य राख्ने हुनाले कति जना नेपाली सङ्क्रमित छन् यथार्थ जानकारी नभएको भन्दै विवरणमा करिब ६० जनामा सङ्क्रमण पाइएको उल्लेख छ।

त्यसमध्ये ४२ जना हाल कोरोनाभाइरस सङ्क्रमणको केन्द्रविन्दु रहेको न्यूयोर्कका भएको उल्लेख गरिएको छ। वासिङ्टन डिसीस्थित दूतावासले एकजना नेपाली मूलका अमेरिकी र एक नेपाली नागरिक सहित छजनाको मृत्यु भएको र त्यसमध्य तीन जनाको मृत्युको कारण पुष्टि हुन बाँकी रहेको उल्लेख गरेको छ।

राजदूत कार्कीले भने, ‘परिवार चिन्तित हुने आशङ्काले कतिपयले आफूलाई सङ्क्रमण भएको सार्वजनिक गर्न चाहनुभएको छैन ।’ ‘एक्लै बस्दा महङ्गो हुने भएकाले धैरै जना सामूहिक रूपमा बस्ने गर्नुभएको छ तर आफ्ना कारणले समुदायमा नराम्रो नहोस भनेर पनि खुल्न नचाहनेहरू हुनुहुन्छ। त्यसैले हामीसँग यकिन तथ्याङ्क छैन ।’

यसअघि गैरआवसीय नेपाली सङ्घले अमेरिकामा ५०० जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएका हुनसक्ने आशङ्का व्यक्त गरिएको थियो।

यूकेमा हाल ३५ जनामा सङ्क्रमण देखिएको र त्यसमध्ये ३० जना क्वारन्टीनमा रहेको उल्लेख गरिएको छ। त्यहाँ हालसम्म कोरोनाभाइरसको कारण छजना नेपालीले ज्यान गुमाएको र १० जना आराम गरिरहेका छन्।

लन्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज अरनले कोरोनाभाइरसपछि उत्पन्न सङ्कटका कारण खाना र डेरा खर्च नभएको कारणसहित २३० जनाले सम्पर्क गरेको जानकारी दिए ।(बीबीसी नेपाली सेवाबाट)

प्रतिक्रिया दिनुहोस्