लकडाउन खुलेपछि सङ्क्रमणको दर बढ्योः १४ हजार २१ जनाले कोरोना जिते - दर्पण संसार

लकडाउन खुलेपछि सङ्क्रमणको दर बढ्योः १४ हजार २१ जनाले कोरोना जिते

काठमाडौं । लकडाउन खुलेसँगै कोभिड–१९ सङ्क्रमणको दर बढेको पाइएको छ । लकडाउन खोल्नुअघिको आठ दिन र लकडाउन खुलेपछिको आठ दिनपछि परीक्षण र सङ्क्रमितको सङ्ख्या हेर्दा कोरोनाको सङ्क्रमण दर बढेको पाइएको हो ।

लकडाउन खुल्नअघिको आठ दिनको अवधिमा कूल ३४ हजार ४५७ नमूना परीक्षण गर्दा एक हजार ४९ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यस्तै लकडाउन खुलेको पछिल्ला आठ दिनमा ३४ हजार १०९ नमूना परीक्षण गर्दा एक हजार २७९ जनामा कोरोना पुष्टि भएको छ ।

लकडाउन खुल्नुअघिको आठ दिन तीन प्रतिशतमा सीमित रहेको कोरोना सङ्क्रमण पछिल्ला आठ दिनको अवधिमा बढेर ३.७ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बन्दाबन्दी खुलेसँगै सबै नवसामान्यीकरणमा आएको उल्लेख गर्दै मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले कोभिड अगाडिको जस्तै सामान्य जीवनमा फर्किएका रुपमा नबुझ्न आग्रह गरे ।

कोरोना भाइरसको जोखिमकैबीचमा काम गर्नुपर्ने बाध्यता रहेको भन्दै उनले उचित जनस्वास्थ्य सावधानी अपनाउन अनुरोध गरे। पछिल्लो केही दिनदेखि लगातार कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा विभिन्न २९ वटा प्रयोगशालामा छ हजार ३७ नमूना परीक्षणमा २१० जनामा कोभिड–१९ पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए ।

मुलुकभर अहिले पनि सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २०३ रहेको छ । प्रदेश नं १ मा २२६, प्रदेश नं २ मा एक हजार ९८२, वाग्मती प्रदेशमा ४८३, गण्डकी प्रदेशमा २८८, प्रदेश नं ५ मा ४०१, कर्णाली प्रदेशमा ३०२ र सुदूरपश्चिम प्रदेशमा एक हजार ५२१ सक्रिय सङ्क्रमित छन् । रौतहट र कैलालीमा अझै पनि ५०० बढी सक्रिय सङ्क्रमित उपचाररत छन् । क्वारेन्टिनमा रहनेको सङ्ख्या १४ हजार ४७१ छ ।

नेपालमा हालसम्म कूल सङ्क्रमितको ७२.७ प्रतिशत कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १४६ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए । हालसम्म १४ हजार २१ जना कोरोनालाई जितेर घर फर्केका छन् ।

नेपालमा प्रति १० लाखमा १२ हजार २८४ जनाको कोरोना परीक्षण गरिएको छ भने मृत्युदर प्रति १० लाखमा १.६ रहेको छ ।

"

प्रतिक्रिया दिनुहोस्