राष्ट्रिय घोडचढीमा २६ राइडर, प्रथम भए खिलध्वज - दर्पण संसार

राष्ट्रिय घोडचढीमा २६ राइडर, प्रथम भए खिलध्वज

काठमाडौं । छैटौँ राष्ट्रिय घोडचढी प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौँको टुँडिखेलमा शुक्रबार भएको उक्त प्रतियोगिताको हाइजम्पतर्फ खिलध्वज खड्का पहिलो, रामबहादुर दाहाल दोस्रो तथा सविनकुमार पोखरेल तेस्रो भए ।
यस्तै शो जम्पतर्फ योगबहादुर बस्नेत पहिलो, लालबहादुर कुँवर दोस्रो र रामबहादुर दाहाल तेस्रो भए । प्रतियोगिताको टेन पेकिङतर्फ रुद्रबहादुर कार्की पहिलो, गोविन्दबहादुर खड्का दोस्रो तथा लक्ष्मण तेस्रो भए । उनीहरुले जनही रु २० हजार, रु १५ हजार तथा रु १० हजार पुरस्कार प्राप्त गरे ।
प्रदर्शन खेलअन्तर्गत महिला राइडरलाई प्रोत्साहनवापत जनही रु पाँच हजार पुरस्कार प्रदान गरिएको थियो । पुरस्कृत हुनेमा हरिमाया गुरुङ, शारदा केएम, कविता थापा र सरिता श्रेष्ठ रहेका छन् ।
प्रतियोगितामा २६ राइडरको सहभागिता थियो । नेपाली सेना र राष्ट्रिय खेलकूद परिषद्ले प्रतियोगिता सञ्चालन गर्न सहयोग गरेको आयोजक सङ्घका अध्यक्ष रवि राजकर्णिकारले जानकारी दिए ।
यस्तै कतार एयरवेज, लिओन मोटर्स, टिभिएस मोटर्सलगायतले प्रतियोगिताको प्रायोजन गरेका थिए । विजेता खेलाडीलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गरे । घोडचढी हालसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्म मात्र सीमित रहेकाले जनस्तरमा यस खेललाई लैजान प्रतियोगिता आयोजना गरिएको अध्यक्ष राजकर्णिकारले बताए ।

प्रतिक्रिया दिनुहोस्