भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जी रहेनन् - दर्पण संसार

भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जी रहेनन्

एजेन्सी । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार निधन भएको छ ।

झण्डै एक महिना अगाडि मस्तिस्कमा रगत जमेका कारण अस्वस्थ भएका भारतका पूर्व राष्ट्रपति मुखर्जी सैनिक अस्पतालमा उपचाररत थिए । मुखर्जीको उपचार सफल हुन नसकेको चिकित्सकहरुले जनाएका छन् ।

उनी केही दिनदेखि अचेत अवस्थामा थिए । उनको स्वास्थ्य अवस्थामा कहिले सुधार आउने, कहिले स्थिर हुने भइरहेको चिकित्सकहरुले बताउँदै आएका थिए ।

उनका छोरा तथा पूर्व सांसद अभिजित मुखर्जीले पनि सामाजिक सञ्जाल ट्वीटर मार्फत् पिता मुखर्जीको निधन भएको जानकारी दिएका छन् ।

मुखर्जी भारतको १३ औँ राष्ट्रपति भएका थिए । उनको कार्यकाल सन् २०१२ देखि २०१७ सम्म रहेको थियो ।

राष्ट्रपति हुनु पहिले भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता समेत रहेका मुखर्जी त्यसअघि सोही दलबाट अर्थमन्त्री समेत भएका थिए ।

जन्म सन् १९३५ को डिसेम्बर ११ मा भारतको मिरितीमा भएको थियो । उनकी श्रीमती सुभ्रा मुखर्जीको भने उनी राष्ट्रपति भएकै बेला सन् २०१५ मा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्