भक्तपुर घटनाको यस्तो रहस्य - दर्पण संसार

भक्तपुर घटनाको यस्तो रहस्य

२५ लाख ८५ हजार ऋण र घरझगडाले परिवारको हत्या, त्यसपछि आत्महत्या

काठमाडौं / भक्तपुरको मध्यपुर ठिमि नगरपालिका-९ निकोसेरामा एकै परिवारका तीन जनाको मृत्यू प्रकरणमा ऋणको भार र घर झगडा मुख्य कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
गत शुक्रबार श्रीमती शुशिला र छोरा सुसान्तको हत्यापछि श्रीमान सुदिप अधिकारीले विष सेवन गरेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले

देखाएको हो ।
बैंकको ऋण तथा व्यापार व्यवसायका लागि भन्दै ससुरालीबाट लिएको ऋण र घर लिलाम हुने अवस्थापछि त्यसबाट उत्पन्न घरायसी झगडाका कारण घटनाले परिवार नै सखाप हुने अवस्था निम्त्याएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन ।

प्रहरीका अनुसार सुदिपले २३ लाख ८५ हजार ऋण कृषी विकास बैंकबाट लिएको कागजपत्र फेला परेको छ । यस्तै ससुराबाट समेत व्यापार व्यवसायका लागि भन्दै गत बैशाखमा २ लाख ऋण लिएको देखिएको छ । सोही कारण परिवारमा कलह सुरु भएको र बैंकले १ आना ३ पैसामा बनेको घर नै लिलाम गर्ने अवस्था सृजना भएपछि परिवारको हत्या गरेर आफूले समेत आत्महत्याको बाटो रोजेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको हो ।

घटनामा धारिलो हतियारको समेत प्रयोग भएको पाइएकाले परिवारको हत्यापछि अधिकारीले आफूले आत्महत्या गरेको हुन सक्ने प्रहरी बताउँछ ।

हत्याको अनुसन्धानमा खटिएका अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार शुशिला र सुसान्तको शव गन्हाएको र शरिरमा धारिलो हतियारको चोट देखिएको अवस्थाम फेला परेको थियो भने छोराको शवसँगै फलामे हतियार समेत भेटिएको थियो ।

‘दुई जनाको शरिरमा चोट देखिएकाले घटनामा धारिलो हतियार प्रयोग भए जस्तो देखिन्छ, विस्तृत रुपमा पोष्टमार्टम रिपोर्ट आएपछि खुल्ला,’ महाशाखाका प्रमुख थापाले भने ।

शुक्रबार साँझ ५ बजे सुदिपका भाइ सुनीलले दाईको परिवार नै मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि भक्तपुर प्रहरी र महानगरीय अपराध महाशाखाको टोली घटनास्थल पुगेको थियो । सुनील दाइको घरमा मासु पुर्याउन भन्दै गएका थिए । उनले ढोका खुला रहेको देखेपछि भित्र पस्दा सबैलाई मृत अवस्थामा देखेका थिए भने त्यसपछि प्रहरीलाई खबर गरेको बताएका छन ।

घटनाको अनुसन्धानका लागि त्रिभुवन विश्वद्यिालय शिक्षण अस्पताल महाराजगंजका फरेन्सिक विज्ञसहितको टोली समेत खटिएका छन ।  सो टोलीको प्रारम्भिक अनुसन्धानका क्रममा श्रीमती र छोराको मृत्यु पहिले नै भएको र श्रीमान सुदिपको मृत्यू केही दिनपछि भएको हुन सक्ने भनेको छ । यस्तै सुदिप बाहेक दुबै जनाको टाउकोमा चोट रहेको फरेन्सिक विज्ञहरुले प्रहरीलाई भनेका छन ।

प्रहरीले सुचना पाए लगत्तै घरलाई शिल गर्दा पहिलो तलामा सुशान्त र दोस्रो तलामा सम्झनाको शव भेटेको थियो । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार श्रीमती र छोरा मृत फेला परेको बेडको भित्तामा रगतको छिर्का समेत पाइएको छ ।

सुदिपले विष सेवन गरेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । घटना स्थलबाट सुदिपको मुखबाट निस्किएको वान्तालाई समेत प्रहरीले परिक्षण गर्न पठाएको छ ।

घटनास्थलको अनुसन्धानका क्रममा प्रहरीले भान्सामा भात, तरकारी लगायत केही खानेकुरा पनि भेटिएको जनाएको छ भने घरमा पालिएको कुकुर समेत मृत भेटिएका कारण कुकुरले समेत विष राखिएको खानेकुरा खाएको हुन सक्ने प्रहरी अनुमान छ ।

प्रहरीका अनुसार एक वर्ष पहिले सुदिपले औषधि पसलमा काम गर्ने गरेका थिए । तर पछिल्लो केही समय यता उनले जागिर छाडेपछि रक्सी खाएर झैझगडा गर्ने गरेका थिए । छोरासँग पनि सुदिपको झगडा हुने गरेको स्थानीयले प्रहरीलाई दिएको बयानमा भनेका छन ।

श्रीमती र छोराको शव गन्हाएको र सडेको अवस्थामा भेटिएकाले घटनाबारे पोष्टमार्टम रिपोर्ट आएपछि मात्र स्पष्ट हुन सकिने प्रहरीले जनाएको छ ।

मृतकका आफन्तले भने शनिबार महानगरीय प्रहरी वृत्त ठिमिमा घटनाको सत्यतथ्य छानिबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै जाहेरी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्