बेलायतमा फेरि लकडाउनको तयारी - दर्पण संसार

बेलायतमा फेरि लकडाउनको तयारी

एजेन्सी । बेलायतको सरकारले कोरोनाभाइरस महामारीको प्रतिरोध गर्न बेलायतमा फेरि कडा नियन्त्रणको उपाय (बन्दाबन्दी) गर्न सकिने बताएको छ ।

हरेक हप्तामा अस्पताल भर्ना हुने दरमा दोब्बर वृद्धि भइरहेको अवस्थामा सरकारी अधिकारीले उक्त सम्भावनालाई उल्लेख गरेका हुन ।

स्वास्थ्यमन्त्री म्याट ह्यानककले बीबीसी टेलिभिजनलाई दिएको अन्तवार्तामा उनले भने, “हामीले राष्ट्रियरूपमा बन्दाबन्दी (लकडाउन) गर्ने अवस्था नआओस् भन्ने चाहन्छौँ । तर यदि आवश्यक परेमा उक्त विकल्पका लागि पनि हामी तयार रहनुपर्छ ।”

“हामी ज्यान बचाउने र जीविकोपार्जनका उपायलाई सहज पार्ने दुवै विकल्पका लागि तयार छौं,” उनले भने । शुक्रवारदेखि उत्तरपूर्वी इङ्गल्याण्ड राज्यका विभिन्न स्थानमा प्रतिबन्ध लगाएपछि थप स्थानीय कदम चाल्ने चेतावनी उनले दिएका हुन ।

बेलायत महामारीको कारण युरोपमा सबैभन्दा बढी प्रभावित देश भएको छ र कोभिड–१९ बाट लगभग बेलायतमा ४२ हजार व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्क रहेको छ ।

प्रतिक्रिया दिनुहोस्