बार्सिलोना छाड्ने तयारीमा लागेका मेस्सीलाई कति सहज ? - दर्पण संसार

बार्सिलोना छाड्ने तयारीमा लागेका मेस्सीलाई कति सहज ?

काठमाडौं । विश्व चर्चित फुटबलर लियोनल मेस्सीले एउटै क्लब बार्सिलोनामा २० बर्ष विताएपछि छाड्ने तयारी थालेका छन् ।

स्पेनिस पत्रिका मार्काका अनुसार मेस्सीले बार्सिलोनाका पदाधिकारीसँग भेट गरी आफू क्लब छाड्न इच्छुक रहेको उल्लेख गर्दै मार्ग प्रशस्त गरिदिन अनुरोध गरेका छन् ।

लेजेण्ड फर्वार्ड मेस्सीले क्लब छोड्न पत्र पठाएपछि यो विषय कानूनी लडाईंसम्म पुग्ने संकेत पनि देखिएको छ । आफ्नो जीवनको सुन्दर २० वसन्त बार्सिलोनामा बिताएका ३३ वर्षीय अर्जेन्टाइनी खेलाडी मेस्सीलाई त्यही क्लबबाट निस्कनका लागि कानूनी बाटो अख्तियार गर्नुपर्ने अवस्थामा पुग्नुपर्ने हो कि भन्ने पनि अनुमान छ ।

उनले अर्जेन्टिनी फरवार्ड नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा बार्सिनोलामा खेल्न अनिच्छुक देखिएका छन् ।

च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८–२ गोल अन्तरले पराजित भएपछि मेस्सीले क्लब छाड्न दवाव परेको समाचारमा जनाइएको छ ।

बार्सिलोनासँग उनको सम्झौता अझै एक वर्ष बाँकी छ । तर मेस्सीले एक वर्ष बाँकी छँदै क्लब छाड्न चाहेको प्रष्ट पारेका हुन् ।

मेस्सीको पछिल्लो अवस्थाबारे म्यान्चेष्टर सिटीले अनुगमन गरिरहेको छ । सिरी ए क्लब इन्टर मिलान र फ्रान्सेली क्लब पीएसजी समेत मेस्सी अनुबन्धनमा इच्छुक रहेको बताइएको छ ।

मेस्सीले पुनः बार्सिलोनाका नयाँ प्रशिक्षक र पदाधिकारीसँग भेटेर क्लब छाड्न चाहेको दोहोर्‍याएका हुन् । उनले आफूलाई बार्सिलोनाको योजनाबाट बाहिर राख्न प्रशिक्षकलाई सुझाव दिएका छन् ।

६ पटकका बालोन डी’ओर अवार्ड विजेता मेस्सीले सन् २००४ मा बार्सिलोनाबाटै डेब्यू गरेका थिए । बार्सिलोनाबाट चारपटक च्याम्पियन्स लिगको उपाधि जितेका उनले अहिलेसम्म अरु कुनै क्लबबाट खेलेका छैनन् ।

यता मेस्सीको पत्र पाएपछि बार्सिलोनाले भने उनीसँगका सबै व्यवस्था समाप्त भएको र सन् २०२१ सम्मको सम्झौतामा उनलाई ७०० मिलियन युरोमा किन्न सक्ने जनाएको छ । मेस्सीको पत्रबारे छलफल गर्न चाँडै नै बोर्डको बैठक बस्ने जनाइएको छ ।

मेस्सीको सम्झौतामा जुन १० भन्दा पहिले जानकारी गराएमा स्वतन्त्र मूल्यमा क्लब छोड्ने अधिकार हुने भए पनि ढिला जानकारी गराएको भन्ने विषयमा क्लब अदालत जानसक्ने देखिएको हो ।

जुन १० को मिति गुजारेर जानकारी दिएको तर्क क्लबको छ भने मेस्सी र उनको टिम भने कोरोना भाइरसको महामारीका कारण यो सिजन लम्बिएकाले आफ्नो सम्झौतामा रहेको व्यवस्थाको समय थपिनुपर्ने तर्क गर्दैछन् ।

सन् २००० देखि क्लवमा रहेका मेस्सीसँग बार्साले पछिल्लो पटक सन् २०१७ मा गरेको सम्झौतामा साप्ताहिक रुपमा ५ लाख ६५ हजार यूरो (७९ करोड ६ लाख ६५ हजार नेपाली रुपैयाँ) तिर्ने सहमति गरेको थियो । र यो सम्झौताको अवधि सन् २०२१ को जुन ३० मा सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्