प्रहरीलाई आचारसंहिता - दर्पण संसार

प्रहरीलाई आचारसंहिता

पोसाक देखि सलामीसम्ममा नियम

काठमाडौं / प्रहरी संगठन भित्र पालना गर्नु पर्ने नियम तथा काम कारवाही संचालन बारे आचार संहिता जारी गरिएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहिता सम्बन्धी कार्यादेश २०७७ आइतबार सार्वजनिक गरेका हुन ।

सो कार्यादेशमा प्रहरी संगठन भित्र रहँदा पालना गर्नु पर्ने अनुशासन, सम्मान तथा आवश्यक नियमबारे उल्लेख गरिएको छ ।

कार्यादेश जारी गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले निर्माण भएका कार्यादेश र निर्देशिकाहरुले संगठनलाई सही मार्गमा लैजान दूरगामी रुपमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे ।

‘कार्यादेश र निर्देशिकाहरुले संगठनलाई सही मार्गमा लैजान दुरगामी रुपमा सकरात्मक असर पार्छ, यसले प्रहरीको छविलाई थप राम्रो बनाउन मद्दत गर्छ,’ कार्यादेश सार्वजनिक गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भने ।

कार्यादेशमा जनसम्पर्क तथा भेटघाट सम्वन्धि व्यवहार, अनुशासन र भाइचारा, कानुनको पालना, संचार माध्यमसँगको सम्वन्ध, पोशाक प्रतिको व्यवहार, राष्ट्रिय झण्डा प्रतिको सम्मान, सलामी सम्वन्धि व्यवस्था र सम्मान तथा भान्छामा गरिनु पर्ने व्यवहार लगायतलाई स्पष्ट पारिएको छ ।

कार्यक्रममा महानिरीक्षक क्षेत्रीले प्रहरी संगठनमा व्यवसायिकता नै मुख्य भएकोले सडकमा समेत व्यवसायिकता देखिने गरी काम गर्न उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन दिए ।

उनले विश्व महामारीका रुपमा रहेको कोभिड १९ लाई सबैको साझा शत्रुका रुपमा लिएर नियन्त्रणमा एक भएर लाग्नु पर्नेमा समेत जोड दिए ।

कार्यक्रममा नेपाल प्रहरी कार्ययोजना २०७७ को इमप्लिमेन्टेनशन ट्रयाकिङ सफ्टवेयरको समेत शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु सहभागी थिए भने प्रदेश प्रहरी प्रमुखहरुको भर्चुअल्ली उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्