प्रदेश २ को नाम र राजधानी ‘जानकी’ र ‘मिथिला भोजपुरा’ अस्वीकृत - दर्पण संसार

प्रदेश २ को नाम र राजधानी ‘जानकी’ र ‘मिथिला भोजपुरा’ अस्वीकृत

काठमाडौं । प्रदेश नम्बर–२ को नामाकरणमा जानकी र मिथिला भोजपुरा नाम अस्वीकृत भएको छ ।

नाम सदरका लागि दुईतिहाइ अर्थात् ७२ मत चाहिनेमा नेकपाले प्रस्ताव गरेको जानकी प्रदेशमा ३७ मत खसेको छ भने नेपाली कांग्रेसले प्रस्ताव गरेको मिथिलामा २८ मत प्राप्त भएको हो ।

प्रदेशको नामाकरण र स्थायी राजधानीका लागि मंगलबार दिउँसोदेखि मतदान सुरु भएको हो । प्रतिपक्षी नेकपाले जानकी, कांग्रेसले मिथिला भोजपुरा, सत्तापक्ष तथा कांग्रेसका असन्तुष्ट सांसदहरुले मध्य मधेस र सत्तारुढ समाजवादी तथा राजपाले संयुक्तरुपमा मधेस प्रदेश नाम प्रस्ताव गराएका हुन् ।

नामका लागि चार र राजधानीका तीन गरी विभिन्न सात चरणमा निर्वाचन हुने सभामुख सरोजकुमार यादवले जानकारी दिए ।

प्रदेशको नाममा टुंगो लागेपछि राजधानीको मतदान हुनेछ । राजधानीका लागि जनकपुरधाम, वीरगन्ज महानगरपालिकासहित पोखरिया, सिम्रौनगढ, निजगढ समेटिएका क्षेत्रसहित तीनओटा प्रस्ताव गरिएका छन् ।

सत्तारुढ र प्रतिपक्षी दलहरुले संयक्तरुपमा जनकपुरधाम प्रस्ताव दर्ता गराएका छन् भने सत्तारुढ समाजवादी र राजपासहित कांग्रेसका असन्तुष्ट सांसदहरुले वीरगन्ज र वीरगन्जसहितका क्षेत्र दर्ता गराएका छन् ।

यसअघि, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जानकी प्रदेशकै पक्षमा र कांग्रेसले मिथिला भोजपुरा प्रदेशको नाममा मतदान गर्न आ–आफ्ना सांसदहरुलाई ‘ह्विप’ नै जारी गरेका थिए ।

कांग्रेस तथा नेकपाका केही सांसद मधेस प्रदेशको पक्षमा देखिएकाले ‘क्रस भोटिङ’ हुनसक्ने सम्भावना देखिएपछि ह्विप जारी गरिएको नेताहरुले बताएका छन् ।

प्रदेश–२ मा १०७ सांसद रहेकामा समाजवादी पार्टीका ३१, राजपा नेपालका २५, नेकपाका ३२, कांग्रेसका १९ सांसद रहेका छन् । सभामुख यादवको संयोजकत्वमा गठित ९ सदस्यीय विशेष अध्ययन समितिले सहमति जुट्न नसकेपछि मतदान प्रक्रियामा लगिएको हो ।

प्रतिक्रिया दिनुहोस्