प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी बनाएकोमा कांग्रेसको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी नबनाउन सरकारलाई चेतावनी दिएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार जारी गरेको विज्ञप्तिमा सत्तापक्षकै कारण झण्डै एक महिनादेखि सदन अवरुद्ध रहेको स्थितिलाई गम्भीरतापुर्वक लिएको भन्दै प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी बनाउन चेतावनी दिइएको छ ।
विज्ञप्तिमा प्रतिनिधिसभाको बैठक फेरि पनि स्थगित हुनु सरकार र सत्तारुढ नेकपाको संसदप्रतिको गैह्जिम्मेवार व्यवहारको रुपमा लिएको जनाइएको छ ।
संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भूमिका, गरिमा र महत्व हुने भए पनि विगत तीन महिनादेखि रिक्त पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु आपत्तिजनक रहेको विज्ञप्तिमा उल्लेख छ । नेपाली कांग्रेसले तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र नेकपालाई सचेत पनि गराएको छ ।