नक्शा सार्वजनिक कुनै तमासा होइन, नेपाली भूमि फिर्ता ल्याउनकै लागि हो: प्रधानमन्त्री - दर्पण संसार

नक्शा सार्वजनिक कुनै तमासा होइन, नेपाली भूमि फिर्ता ल्याउनकै लागि हो: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारतले अतिक्रमित गरेको सबै भूभाग सरकारले फिर्ता ल्याएरै छाड्नै अठोट व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकार देखाउने राष्ट्रवादको पक्षमा नभई अनुभूत गर्ने राष्ट्रियताको पक्षमा रहेकैले नीति तथा कार्यक्रममा नेपाली भूमि समेटिएको नक्शा सार्वजनिक गर्ने विषय व्यक्त गरिएको थियो ।’

प्रधानमन्त्री ओलीले लिम्पियाधुरासहितको नेपाली नक्शा नेपाली भूमि फिर्ता ल्याउनकै लागि जारी गरिएको पनि बताए । सरकारले लिम्पियाधुरासहितको नक्शा देखाउनका लागि मात्र जारी नगरिएको भन्दै उनले भने, ‘यो कुनै तमासा गरिएको होइन, देखाउनका लागि मात्र गरिएको होइन । यथार्थमा फिर्ता ल्याउनका लागि गरिएको हो ।’

प्रधानमन्त्रीले ओलीले भने, ‘तथाकथित राष्ट्रवाद बोल्ने अभ्यास र प्रचलन देखिआएको भोगिआएको समयमा त्यस्तो आकलन गर्नुु पनि अनौठो होइन ।’

नक्शा सार्वजनिक भएसँग संविधानको अनुसूचीको व्यवस्था पनि फेरिनुपर्ने भएकाले उक्त व्यवस्था संशोधन गर्न सरकारले संसदमा संविधान संशोधनको प्रस्ताव ल्याउने भन्दै पारितका लागि संसदलाई आग्रह पनि गरे । प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति दिइरहँदा सांसदहरुले ताली ठोकेर समर्थन गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सदनमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले भूगोल सानो ठूलोको आधारमा राष्ट्रियता ठूलो सानो नहुने र कुनै कुनै देशको भूगोल सानो ठूलो हुने वा विकासमा अघि वा पछि हुनसक्छ तर राष्ट्रियता प्रयोग बराबर हुने बताए ।

भारतको राष्ट्रिय प्रतीक र नाराकै आधारमा आफ्नो भूमि नेपालले फिर्ता गर्ने उल्लेख गर्दै उनले भने “भारतको प्रतीक चिन्हमा एउटा सिँह छ र त्यसको मुनि सत्यमेव जयते लेखिएको छ । अब म सोध्ने छु, भारतलाई कि सिंहमेव जयते या सत्यमेव जयते ? हामी सत्यमेव जयतेमा विश्वास गर्छौँ र हामी हाम्रो भूमि फिर्ता गर्नेछौँ ।”

प्रतिक्रिया दिनुहोस्