त्रिविमा भइरहेको प्रहरी हस्तक्षेप प्रति नेविसघंको आपत्ति - दर्पण संसार

त्रिविमा भइरहेको प्रहरी हस्तक्षेप प्रति नेविसघंको आपत्ति

काठमाडौं / नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा दैनिक जसो भइरहेको प्रहरी हस्तक्षेप प्रति आपत्ति जनाएको छ ।

नेविसंघका अध्यक्ष राजिव ढुंगानाले सोमबार एक विज्ञप्ति जारी गर्दै शैक्षिक क्षेत्रमा प्रहरी हस्तक्षेप बन्द गर्न आग्रह गरेका हुन ।

‘विश्वविद्यालयमा दैनिक प्रहरीको प्रवेश आपत्तिजनक छ, सरकारले शैक्षिक क्षेत्रमा प्रहरी हस्तक्षेप तुरून्त बन्द गरोस,’ अध्यक्ष ढुंगानाद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

प्रहरी हस्तक्षेप बन्द नगराए सरकार र उपकुलपतिको प्रहरी संरक्षित गुण्डागर्दीको विरूद्ध निणर्यक आन्दोलन गर्न बाध्य हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्रिविमा उपकुलपतिले नेविसंघ कार्यकर्ता र आफूसँग असहमत प्राध्यापकहरूलाई झुठा मुद्दा लगाएर आतंकित बनाइएको नेविसंघको आरोप छ ।

‘त्रिविमा प्रहरी उपस्थित गराई विद्यार्थी र प्राध्यापकहरूलाई आतंकित पार्ने कार्यको भत्सना गर्दछौं, विश्वविद्यालय शैक्षिक तपोभूमि हो, प्रहरीको परेड खेलाउने स्थल हैन ।’

विगतमा त्रिविका बेथिति अन्त्य गर्न पटक पटक आवाज उठाउँदै आइएको भएपनि सुनुवाइ नभएको र त्रिविले वार्तासमेत नगरेको नेविसंघको आरोप छ ।
नेविसंघले वार्ता र संवादबाट त्रिविका सबै समस्याका समाधान विज्ञप्तीमार्फत पुनः माग समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्