जेलमुक्त पूर्वडिआइजी कोइराला लिन प्रेमिका पुगिन कारागार - दर्पण संसार

जेलमुक्त पूर्वडिआइजी कोइराला लिन प्रेमिका पुगिन कारागार

काठमाडौं । श्रीमतीको हत्या गरी शव नै जलाएर प्रमाण नष्ट गर्ने प्रयास गरेका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइराला साढे ११ वर्ष कैद छुट पाएर विहीबार जेलमुक्त भएका छन् ।

८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेका कोइरालालाई डिल्लीबजार कारागार प्रशासनले जेलमुक्त गरेको हो । उनी आफ्नै श्रीमती हत्यामा जेल परेको थिए ।

सर्वोच्च अदालतले १५ असारमा उनको सजाय घटाउने फैसला गरेको हो । श्रीमती गीता ढकालको हत्या गरेको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनी साढे आठ वर्ष जेल बसे पुग्ने फैसला गरेको हो ।

उनलाई लिन उनकी प्रेमिका तारा रेग्मी डिल्लीबजार पुगेकी थिइन् । कोइराला सबैलाई हात हल्लाउँदैं आफ्नी प्रेमिकाको गाडीमा चढेका थिए ।

सर्वस्वसहित जन्मकैद अर्थात् २० वर्ष कैद र उनको भागको सम्पत्तिमा दुुई छोराबाहेक उनको हिस्सा सरकारले लिनेगरी जिल्ला र तत्कालीन पुनरावेदन तहमा फैसला भएको थियो ।

तर, अब उनको सजाय आठ वर्ष ६ महिना कायम भएको छ । जसका कारण उनी आज जेलमुक्त भएका छन् ।

पुनरावेदनबाट सर्वोच्चमा आउँदा कर्तव्य गरी मारेको, अनुसन्धान अधिकारी र अदालतमा बयान बदलेको जस्ता सबै तथ्य न्यायाधीशद्वारा स्वीकार गर्दागर्दै पनि उनको सजाय घटाइएको छ ।

यसमा मुख्य आधार कोइरालाले श्रीमतीलाई तत्काल आवेशमा आई हत्या गरेको देखिएकाले र गीताको मृत्युपछि दुई छोराको हेरचाह, संरक्षण र शिक्षादीक्षामा दूरगामी प्रभाव पर्न जाने हुँदा सजाय घटाइएको उल्लेख छ ।

अन्य मुद्दामा महिनौँपछि पूर्णपाठ तयार गर्ने सर्वोच्चले यो मुद्दाको पूर्णपाठ १५ दिनमै तयार गरिसकेको थियो ।

यता, कोइराला प्रकरणमा सर्वोच्च अदालतले सजाय घटाउने गरी गरेको फैसलाले गलत नजिर स्थापित गरेको भन्दै पीडित परिवारले आपत्ति जनाएको छ ।

सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका कोइराला प्रकरणमा सर्वोच्च अदालतले साढे ८ वर्ष मै पूरा हुने फैसला गरेपछि पीडित परिवारले यसबाट समाजमा राम्रो सन्देश प्रवाह नहुने बताएको हो ।

कोइराला रिहा भएपछि पीडित गीता ढकालका बुवा हरेराम ढकालले अदालतको यो फैसलाले समाजमा राम्रो सन्देश नदिने बताए ।

मान्छे मारेको घटनामा जन्मकैद तोकिएका व्यक्तिलाई सर्वोच्च अदालतले नै ८ वर्षमा सजाय पूरा हुने फैसला गरेपछि समाजमा अपराध बढ्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्