जनकपुरमा एक महिलाले एकै पटक जन्माइन तीन छोरी र एक छोरा - दर्पण संसार

जनकपुरमा एक महिलाले एकै पटक जन्माइन तीन छोरी र एक छोरा

काठमाडौं । जनकपुरधाममा एक महिलाले एकै पटक चार सन्तानलाई जन्म दिएकी छन् । धनुषाको विदेह नगरपालिका–७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले हिजो मंगलबार साँझ चार शिशुलाई जन्म दिएकी हुन् ।

प्रसुति व्यथा लागेपछि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी अरमानालाई स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर सोनिया सिंहले शल्यक्रियामार्फत् बच्चाहरू निकालेकी हुन् । उनले यसलाई ‘दुर्लभ’ घटना बताएकी छन् ।

अरमानाले शल्यक्रियामार्फत् जन्माएकी ती शिशुमा तीन छोरी र एक छोरा छन् । शिशुहरूमध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको अस्पतालले जनाएको छ ।

तीन बच्चाको स्वास्थ्य अवस्था सामान्य रहे पनि एक जनाको अवस्था भने अस्थिर देखिएको काव्या अस्पतालका सञ्चालक डाक्टर एसके सिंहले बताए ।

मंगलबार जन्मिएका शिशुहरूको श्वासप्रश्वासमा कठिनाइ हुनसक्ने हुँदा केही साता विशेष स्वास्थ्य निगरानीमा राख्नुपर्ने शल्यक्रियामा संलग्न एक चिकित्सकले बताएको खबर राजधानीडेली डटकमले समाचार लेखेको छ ।

चम्ल्याहा बच्चाको जन्म दिएकी अरमानाको अवस्था भने गम्भीर रहेको छ । उनको फोक्सोमा पानी तथा रगत जमेर पलमन्ड्री एडिमा देखिएकोले डाक्टर अजय यादवको निगरानीमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको र कोरोना परीक्षणका लागि स्वाब संकलन गरी प्रादेशिक प्रयोगशालामा पठाइएको डाक्टर सिंह जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्