चिन्ताले चितामा चढाउछ - सुरेन्द्र नेपाल श्रेष्ठ - दर्पण संसार

चिन्ताले चितामा चढाउछ - सुरेन्द्र नेपाल श्रेष्ठ

अकल्पनीय रुपमा प्राप्त यो महत्वपूर्ण समयलाई सही सदुपयोग गरौं

 

अहिलेको विश्व परिवेश अति नै त्रासदीपूर्ण अवस्थामा गुज्रीरहेको छ l हाम्रो मनोबल पहिला भन्दा अझै उच्च राख्नु पर्ने जरुरी छ । मानसिक रूपमा कमजोर भयौं भने सामान्य अवस्थामा भन्दा धेरै समस्या थपिंदै जानेछन् र अहिलेको भन्दा झन् ठूलो नोक्सानी हुन सक्नेछ । अप्ठ्यारो घडीमा मैले अहिलेसम्म प्रयोग गर्दै आएको एउटा सूत्र तपाईंहरु समक्ष शेयर गर्न चाहन्छु ।

- संभावित परिणामको पूर्ण आँकलन गर्ने,
- हुन सक्ने क्षतिलाई सके सम्म कम गर्न कोशिश गर्ने,
- कुनै पनि अवस्थालाई सहज रूपमा स्वीकार गर्ने l

अहिले हामीले सबैभन्दा बढी चिन्ता गरेको विषय भनेको मृत्यु नै हो । यसलाई न कसैले टारेर टार्न सक्छ न त कसैले चाहेकै हुन्छ । तर मरिन्छ भनेर जे पायो त्यहि गर्न भने हुँदैन । हाम्रा सचेत क्रियाकलापहरुले मृत्युलाई केही पर घचेट्न भने सक्नेछौं । मानव विकासको इतिहासमा यस्ता धेरै घटनाहरू घटे तर प्रविधि विकासको छलाङले गर्दा पहिला जस्तो यो अनभिज्ञताको विषय भने बन्न सकेन । सबैले सबै कुरा सेकेन्ड भरमा थाहा पाउँदा हाम्रो चेतनाले पनि छिटो छिटो प्रतिक्रिया जनाउन थालेका कारण हामीमा बढी डर लाग्नु स्वाभाविक हो ।

रोगको गति र अपत्यारिलो सन्जाल हेर्दा संसारका बहुसंख्यक मानिसहरूलाई यो समस्याले प्रभावित पार्ने देखिन्छ । तर सबै मानव जाति निमिट्यान्न भने हुने छैन । यो कहर पनि बितेर जानेछ, फेरी नयाँ पालुवा पलाउनेछ । आउने समाजमा नयाँ विधि, नयाँ अध्याय शुरू हुने नै छ । ती व्यवस्थामा हामी भएपनि परिवर्तन हुने छन्, हामी नभएपनि परिवर्तन हुने नै छन् । शतप्रतिशत जीवनआयु बाँच्ने स्वार्थ मानवीय गुण हो र हामी जस्तोसुकै अवस्थामा पनि आफ्नो र आफ्नाहरुको सुरक्षाको चासोलाई चनाखो भइ चाख मानेर हेरिरहेका हुन्छौ, गुनीरहेका हुन्छौं । तर सबै प्रक्रियामा हाम्रो सधै सहभागिता अनिवार्य छ जस्तो ठानिनु भने हुँदैन । बरु हाम्रो अनुपस्थितिमा पनि हाम्रो सम्झना बाँकी रहने कामहरु गर्दै जानु पर्दछ । आफ्नोतर्फ बाट अपनाउनु पर्ने सम्पूर्ण होशियारी अपनाऔं । परिवार, साथीभाइ, छरछिमेकीहरुसँग नियमित सम्पर्कमा बसौं ।


अकल्पनीय रुपमा प्राप्त यो महत्वपूर्ण समयलाई सही सदुपयोग गरौं । भविष्यमा लेखिने इतिहासमा यो केवल कालो अध्यायको रूपमा चित्रण नगरी मानवता र प्रविधी बीच प्रकृतिले कसरी सामजस्यता ल्याउंदोरहेछ भन्ने प्रमाणित गरोस। हामीले बाँचेको यो समय मानवीय विकासमा एउटा महत्वपूर्ण कोशे ढुंगा साबित हुनेछ । पूर्वीय दर्शनमा एउटा अचम्मको विश्वास सर्बव्यापी छ, तिमी एक पाइला उठाउ, उसले हजार पाइला जोडाउछ । उ तत्व सर्वव्यापी प्रकृति तत्व हो, जसलाई धर्मले ईश्वर भनेपनि मानवीय उच्चतम् विवेकको अवस्था हो त्यो। अहिले यो रोगको महामारीमा मृत्युको भयले असहाय भइ हामी जसरी छटपटाएका छौं अन्तत: समर्पण बाहेक अर्को कुनै उपाय छैन । आत्मविश्वास बलियो बनाऔं, आफैप्रति समर्पण जनाऔं, प्रकृतिप्रति समर्पण जनाऔं र अस्तित्वलाई धन्यवाद दिउं ताकी यस्तो सुझबुझ र मनोरम जीवन उपहार दिएकोमा अनुग्रहीत होउं । हरक्षण पहिलो र अन्तिम क्षण मानेर उत्सवपूर्वक मनाऔ । सबैमा आफैप्रति सतर्क रही आन्तरीक तथा बाह्य स्वतस्फुर्त अनुभूती गर्न अनुरोध गर्दछु । सांसारिक सम्बन्ध त हामीले एक दिन यो वा त्यो बहानामा तोड्नु नै छ ।

प्रतिक्रिया दिनुहोस्