क्वारन्टीनबाट निस्किएपछि खुशीले गदगद भए नेपाली - दर्पण संसार

क्वारन्टीनबाट निस्किएपछि खुशीले गदगद भए नेपाली

काठमाडौं(बीबीसी नेपाली) चीनबाट फर्किएका नेपालीमध्ये एकले कोरोनाभाइरसको सङ्क्रमणमुक्त अवस्थामा घर फर्कन पाउँदा खुसी लागेको बताएका छन् ।

भक्तपुरको खरिपाटीमा दुई साता क्वारन्टीनमा राखिएका १७५ जनालाई कोरोनाभाइरसको सङ्क्रमण नभएको पुष्टि भएपछि सोमवार उनीहरू बाहिर निस्कन स्वतन्त्र भएका हुन् ।

दुई साताभन्दा अघि विशेष विमानमार्फत सरकारले चीनको वुहानबाट उद्धार गरेर ल्याएका उनीहरुमा सङ्क्रमण नभएको प्रयोगशाला परीक्षणमा पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कसैमा पनि सङ्क्रमण नदेखिएकाले खरिपाटी क्वारन्टीनमा बसिरहेकाहरू सोमवार आफ्नो घर फर्कन सक्ने बताए। क्वारन्टीनमा बसेका बिराटचोक, मोरङका सौरभ लुइटेल घर फर्कन पाउँदा खुसी लागेको बताउँछन् ।

उनले भने,‘वुहानको जुन माहोलबाट आइयो ृत्यसपछिे सबैजना निरोगी भएर सकुशल घर फर्कन पाउँदा एकदमै खुसी लागेको छ ।’ यहाँ (क्वारन्टीन)मा बस्दै गर्दा एउटा परिवार जस्तो मिलेर बस्न पायौँ ।’

लुइटेल यसै वर्ष स्नात्तकोत्तर अध्ययन गर्न चीनको वुहानको वाजोङ कृषि विश्वविद्यालयमा गएका थिए। संसार प्रकोप बनेको कोरोनाभाइरसको केन्द्रविन्दु उक्त सहर रहँदै आएको छ।

कोरोनाभाइरस सङ्क्रमणपछि वुहानमा बाहिर निस्कन पनि डरमर्दो अवस्था भएको उल्लेख गर्दै उनले नेपाल फर्किएपछि क्वारन्टीनमा बस्दा पारिवारिक वातावरण रहेको बताए ।

‘हामी सबै हुँदा एकदमै सहज भयो र मैत्रीपूर्ण वातावरण रह्यो,’ उनी भन्छन्। चीनबाट फर्किएपनि कसैलाई सङ्क्रमण देखा पर्न सक्छ भन्ने चिन्ता भएपनि प्रयोगशाला परीक्षणमा सबै ुनेगेटिभु देखिएपछि आफूलाई ढुक्क लागेको उनले बताए ।

उनले खरिपाटीमा आफूहरूलाई सरकारले उचित रेखदेख र बसोबासको प्रबन्ध मिलाएको भन्दै सरकारको प्रशंसा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्