कोरोना भाईरस, लकडाउन र मानसिक स्वास्थ्य : सुमाया राई - दर्पण संसार

कोरोना भाईरस, लकडाउन र मानसिक स्वास्थ्य : सुमाया राई

रोगसित उन्मुक्ति पाउन विभिन्न देशहरूले स्वास्थ्य, आर्थिक, सामाजिक स्तरमा रणनिति

 

लन्डन l मार्च २९ को दिन एक समाचारले सबैको ध्यान आकृष्ट गरेको हुनु पर्छ त्यो के भने जर्मनीको फ्रैंकफर्ट स्थित हेसे स्टेटका अर्थमंत्री थोमस सेफरले करोना भाइरसको प्रकोप र त्यसको परिणामलाई सहन नसकेर अत्यधिक ‘तनाव’ को कारणले रेलको लिकमा हाम फालेर आत्महत्या गरे ।

WHO को अपडेट हेर्ने हो भने संसारको कुनै देश यस करोना संक्रमणबाट अछुतो रहेको छैन र प्रत्येक दिन यस संक्रमणबाट मानिसको ज्यान जोखिममा परि रहेको छ । रोगप्रतिरोधात्मक शक्ति कम भएको र लामो समयदेखी रोगसंग लडी रहेकाहरू यस महामारीको चपेटमा छिट्टै पर्ने र निको हुने मौका अत्यन्तै शुन्य रहेको छ । जबकि रोगप्रतिरोधात्मक क्षमता बढि भएकाहरू केही दिनको आइसोलेशन पछि सामान्य अवस्थामा फर्की सकेको संख्यापनि उल्लेख्य रहेको छ ।

यस रोगसित उन्मुक्ति पाउन विभिन्न देशहरूले स्वास्थ्य, आर्थिक, सामाजिक स्तरमा रणनिति तैयार गर्दै अगाडी बढि रहेका छन । सबै भन्दा प्रभावकारी पाईला सामाजिक दुरी बनाई राख्ने कुराको अपिल सरकारले गरेतापनि लकडाउन अपरिहार्य भएको छ । यसप्रकारका रणनितिले यस महामारीलाई सामना गर्न धेरै मात्रामा सहयोगी हुनेनै छ तर यस अलावा व्यक्तिको मानसिक स्वास्थप्रतिपनि उत्तिकै विचार पुर्याउनु पर्दछ अन्यथा धेरथोर थोमस सेफर जस्तो तनाव महशुस नहोला भन्न सकिन्न ।

एकातर्फ कोरोना महामारीको त्रास र त्यमाथि लकडाउनको स्थितीले मान्छेलाई विचलित बनाउने, तनाव महशुस हुन सक्ने हुन सक्छ । सारा विश्वनै यस महामारीसंग लडि रहँदा एकप्रकारको तनावबाट गुज्री रहेको छ । स्वास्थकर्मीहरू, पुलिस-प्रशासन देखी लिएर दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने निकाय, स्वास्थ सेवा एवंम् अतिआवश्यक सेवा प्रदायक निकायकाहरू एकप्रकारको तनावमा त छदैं छन । साथसाथै, आम मानिसहरू जो लकडाउनको कारणले र त्यसमाथि विभिन्न सामाजिक संजाल र मिडीया मार्फत पाई रहने सही वा गलत वा अतिरंजित समाचार र भिडियो आदिले गर्दा एकप्रकारको तनावलाई महशुस गरीरहेकै हुनु पर्दछ । यद्दपि मात्रात्मक रूपले धेरथोर हुन सक्दछ ।

अत्यधिक तनाव मानव जीवनकोलागी राम्रो होइन अत: यसको समयमै र सहीरूपले व्यवस्थापन गर्न सक्नु पर्दछ ।

तनावमा भएको कसरी थाहा पाउने त ??

१. बिना कारण टाउको दुखी रहन्छ, पेट दुखी रहन्छ, पखाला लाग्छ अथवा कब्जियत भएको महशुस हुन्छ भने
२. निंद्रा पटक्कै नलाग्नु, कान बजीरहेको महशुस हुनु, हृदयको गतिमा अचानक परिवर्तन महशुस हुनु , छाती भारी महशुस भै रहनु
३. कुनैपनि कार्य गर्न ईच्छा मरेर आउनु, दुश्चिन्ता बढ़ेर जानु, अरूसित बोल्न मन नपर्नु अथवा अरूले बोलेको मन नपर्नु
४. बिना कारण नर्वसनेस महशुस गर्नु , बिना कारण हाथ खुट्टामा चिटचिट पसिना आउनु अथवा चिसो हुनु , मुख र घाँटी सुकेको महशुस हुनु
५. खानामा अरूचि हुनु अथवा निल्दा गाह्रो महशुस हुनु
६. व्यक्तिमा यौनजन्य ईच्छा मरेर जानु
७. आफुलाई बेकम्मा र अरूमाथि बोझ भएको ठान्नु र जीवन बाँच्नमा कुनै सार नदेख्नु आदि लक्षण देखिन थाल्दछ जो व्यक्तिकोलागी अत्यन्तै हानिकारक हुन्छ ।

उपरोक्त लक्षण निकै लामो समय सम्म रही रह्यो भने थोमस सेफरको जस्तो परीणति नभएपनि दैनिक जीवनमा तालमेल बसाउन अत्यन्तै गाह्रो हुँदै जान्छ जो कालन्तरमा सबंधित व्यक्तिलाई मात्र नभई उसको परिवार र समाजलाई हानि पुग्न जान्छ ।

तनाव व्यवस्थापन गर्नलाई के गर्ने त ?

१. सर्वप्रथम त आफुलाई मानसिक रूपले तैयार गरौं । मानौं COVID19 एक महामारी त हो तर त्यसबाट हामी अलिकति सावधानी अपनायौं भने यसले हामीलाई केही गर्न सक्दैन भनी सकारात्मक सोचलाई मात्र प्रश्रय दियौं ।

२. सारा संसार हाम्रो हत्केलामा समेटिएको छ अत: सामाजिक संजाल र मिडियाको भरपुर तर सकारात्मक उपयोग गरौं । नकारात्मक र हिंसात्मक विचारलाई बलपुर्याउन सक्ने विषयमाथि समय व्यतित नगरौं ।

३. स्कुले नानीहरू छन भने उनीहरूलाई बढ़ि भन्दा बढ़ि समय दिन सक्ने राम्रो मौकाको रूपमा यो समयलाई उपयोग गरौं । उनीहरूको रूची र अरुचीलाई जाँच्ने, बुझ्ने र सकारात्मक र उर्जावान तर साना साना कार्यहरूमा शामिल गराउनुस यस बाट उनीहरूको बालमस्तिष्कमा भावी दिनकालागी जिम्मेवारी र कर्तव्यको जग बसाउनमा सहयोग मिल्ने छ । यदि कलेज वा विश्वविद्यालय जाने खालका छन भने उनीहरूसंग मित्रवत् व्यवहार र समसामयिक कुराहरूमा शामिल गराउनुस , घरपरिवारको कुरामा निर्णय लिनदिन सक्ने खालको क्रियाकलापमा शामिल गराउनुस ।

४. मन पर्ने फिल्म हेर्नुस, पुस्तक पढ़नुस, थाति रह्का घरका कामहरूछन भने त्यो पुरा गर्नु होस , कुनै प्रकारका हबीहरूछन भने त्यो पुरा गर्न यस लकडाउनको समयमा सदुपयोग गर्नुस ।

५. सामाजिक संजालमा अनावश्यक टिकाटिप्पणीहरूबाट जोगिनुस ।

६. साथीहरूले म्यासेन्जर, व्हाट्सएप , भाईबरमा संदेशहरूको चाँग पठाउनु हुन्छ ? दिक्क नमान्नुस - सकारात्मक रूपले लिइ दिनुस । शायद साथीहरू तपाईप्रति बढ़ि संवेदनशील छन , तपाईलाई माया गर्नु भएको भावले स्वीकारी दिनु भयो भने तनाव बाट जोगिन सक्नु हुन्छ । होईन भने त्यसलाई अदेखा गरीदिएपनि भयो ।

७. फोन डाईरेक्ट्री पल्टाउनुस धेरै दिन देखीको सम्पर्कविहीन रहेका साथीभाई वा आफ्नो आफ्न्तहरूलाई कल गर्नुस यो समय उनीहरूसंग संबंध नवीकरण गर्ने मौकाको रूपमा लिनु होस ।

८. सृजनशील कार्य गर्दा हुन्छ - कथा, कविता, चित्रकारीता, गृह सज्जा, उद्यान सज्जा, स्वंयलाई पनि श्रृंगार सज्जामा समय व्यतित गर्न सकिन्छ ।

९. घर भित्र सजिलै गर्न सकिने हल्का शारीरिक व्यायाम, ध्यान, योगा आदिमा समय सदुपयोग गर्न सकिन्छ ।

१०. घरमा वृद्ध बुजुर्ग हुनु हुन्छ भने उनीहरूसंगपनि समय जो हाम्रोलागी थोरै भएपनि उनीहरूकोलागी त्यो अत्यन्तै अनमोल हुन्छन ,अवश्य व्यतित गर्नुहोस ।

११. सरकारी संस्थानहरू, अस्पताल र अत्यावश्यक सेवा प्रदायक निकायहरूको सम्पर्क नम्बरहरू तैयारी अवस्थामा राख्नु होस l

१२. यति सबैको बावजुदपनि तनावको स्तर कम हुँदैन र आफुलाई अप्ठारो महशुस भै नै रहन्छ भने आजभोली मानसिक स्वास्थ सेवा प्रदान गर्ने सरकारी निकाय लगायत निजीस्तरमा थुप्रै मनोसामाजिक परामर्शदाता एवंम निकायहरूका हेल्पलाईन वा प्रत्यक्षरूपले कुराकानी गरी सेवा प्राप्त गर्न सक्नु हुने छ ।

सबैभन्दा महत्वपुर्ण के हो भने आफुले आफुलाई मानसिक रूपले कहिले कमजोर नबनाउँ । हरएक घटनाक्रमले मानिसलाई एक सिकाई सिकाएक जान्छ हो यस COVID19 को महामारीलाईपनि एक सिकाईको रूपमा लिऊँ । कथंकदाचित , COVID19 माथी हामीले विजय प्राप्त गर्यौं भनेपनि अहिले सिकेका अभ्यासहरूलाई चट्क्कै नछोड़ौं । कम्तिमा पर्शनल हाइजीन देखी लिएर बाह्य वातावरणलाई कम कोलाहलपुर्ण र स्वच्छ बनाई रहनमा तत्परता लिइ रहनु पर्दछ । यस लकडाउनमा गर्न सकेको सृजनात्मकतालाई पनि निरंतरता दिई रहनु पर्दछ अनिमात्र जीवनलाई बाँची दिनमात्र होईन कि बाँच्नकालागी जीवनलाई कलात्मक लय दिन सकिनेछ जो संभवत: मानवजातिले कतै बिर्सी सकेको थियो ।

(हाल बेलायत निवासी डा राई त्रीवी मनोविज्ञान शाखाकी पूर्व उपप्राध्यापक हुनुहुन्छ )

प्रतिक्रिया दिनुहोस्