कोरोना कहर - दर्पण संसार

कोरोना कहर

सामाजिक दुरी कायम गर्न टेण्टमा कैदीबन्दी

काठमाडौं / जैसिदेवल स्थित केन्द्रिय कारागार सहित देशका विभिन्न जिल्लामा रहेका ७१ कारागार मध्ये ७ वटा कारागारमा रहेका कैदी बन्दीमा कोरोना संक्रमण देखिएको छ ।


कारागारमा कोराना फैंलदैं गएपछि सामाजिक दूरी कायम राख्न भन्दै कैदी बन्दीलाई टेण्टमा राख्न थलिएको छ ।

राजधानीको जगन्नाथ देवलस्थित केन्द्रीय कारागार, विरगंज कारागार, बाँके कारागार, सुनसरीको झुम्का कारागार, सिराहा, स्याङ्जा र सिन्धुपाल्चोक कारागारमा रहेका कैदी बन्दीमा हालसम्म कोरोना संक्रमण पुष्टी भइसकेको छ ।

केन्द्रीय कारागारमा हालसम्म ५५ जना कैदी बन्दी सहित ५० भन्दा बढी सुरक्षकर्मी र कारागार कर्मचारीलाई संक्रमण देखिएको छ ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टी भएको कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले जानकारी दिए ।

विभागका सुचना अधिकारी देवर्षि सापकोटाले हालसम्म देशभरका ७१ कारागार मध्ये ७ कारागारमा संक्रमण देखिएको बताए ।

उनका अनुसार ति सात कारागारमा रहेका कैदी बन्दी, सुरक्षाकर्मी र कर्मचारीमध्ये ६ सय ५८ जनाको पिसिआर विधिबाट स्वाब परिक्षण गर्दा १ सय ६६ जनामा संक्रमण पुष्टी भइसकेको छ ।

आइतबारसाँझ केन्द्रिय कारागारमा थप भएका ३५ जना कैदी बन्दी सहित संक्रमित कैदी बन्दीको संख्या देशभर ७२ बाट बढेर १ सय ७ पुगेको छ । यस बाहेक कारागार सुरक्षामा खटिएका ५२ सुरक्षाकर्मी र ७ कर्मचारीमा समेत हालसम्म संक्रमण पुष्टी भइसकेको छ ।

त्यसमध्ये हालसम्म ४८ जना कैदी बन्दी उपचारपछि संक्रमण मुक्त भइसकेका छन भने अन्य कैदीबन्दी विभिन्न स्थानमा रहेका कोभिड अस्पतालहरुमा उपचाररत छन । यसैगरी १८ जना सुरक्षाकर्मी निको भइसकेका छन भने ३४ जना उपचाररत छन । यस्तै ७ कर्मचारी मध्ये ६ जना निको भइसकेका छन भने १ जना उपचररत छन ।

देशभरका कारागारमा हाल २४ हजार १ सय ६३ कैदी बन्दी छन । तर देशभर १६ हजार कैदी बन्दी मात्रै राख्न सक्ने क्षमता छ । कतिपय स्थानका कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी राखिएका छन ।

कारागार प्रसासनले कारागार भित्र कैदी बन्दीहरुलाई सामाजिक दुरी कायम गरेर राख्नै समस्या भएपछि रेडक्रसले सहयोग वापत दिएको टेण्टमा राखिएको छ ।

कैलालीमा कारागारमा कैदी बन्दी राख्न समस्या भएपछि महिला कैदी बन्दीहरुलाई उनीहरु बस्ने वार्ड खाली गराएर बर्दिया र दैलेख सारिएको छ ।

संक्रमणको जोखिमसँगै स्थान अभाव भएपछि केन्द्रिय कारागारमा नै रेडक्रसले दिएको टेण्ट भित्र कैदी बन्दीलाई राखिएको हो ।  यसैगरी सुनसरीको झुम्का कारागारमा समेत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दिएको टेण्ट प्रयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्