के प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ दिन सक्छन ? - दर्पण संसार

के प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ दिन सक्छन ?

-दुर्गा भट्टराई
यतिबेला विश्वभर कोरोना भाइरसको महामारीले समाज आतंकित छ । नेपाल पनि भाइरसको महामारीबाट प्रभावित छ । लकडाउन छ मुलुकमा । लकडाउनले जनता सुरक्षित त होलान तर सबैभन्दा धेरै दुःख पनि पाइरहेका छन् । यस्तो बेला हाम्रा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ मौन छन् । उनको दिमागले काम नगरेजस्तो र कालो बादल मडारिए जस्तो भएकाले केहि नदेख्ने भएका छन् । देश संकटमा परेका बेला गृहमन्त्रीको सक्रियता भने अनुरुप देखिन्छ । जनता जति रोइ कराई गरे पनि मन्त्री ज्यूले सुन्न्दैनन र देख्दैनन । र देखेका पनि छैनन् । लकडाउनको मौकामा सुरक्षाकर्मीले पैदलयात्रीलाई गरेको व्यवहार र आक्रमणले गृहमन्त्री ज्यूलाई कुनै असर परेको देखिन्न । प्रहरी प्रशासन झन क्रुर र तानसाही देखिन्छन ।

यस्तोबेला मानिसहरु सोचदै होलान कस्तो नेतालाई भोट हालिएछ ? मन्त्रीज्यूलाई लाग्ला जनता खुशीसग बसेका छन् । तर पैदल हिडीरहेका जनताले पाएको दुःखले तपाईहरुलाई किन दुख्दैन, किन पोल्दैन ? हुनत १७ हजार जनताको मरणबाट सिंहदरबार सयर गर्नुभएका मन्त्रीज्यूलाई जनताको दुःखले कहिल्यै नपोल्ला है ?

दुःख,पीडा, अन्याय, अत्याचार नबुझेर वा नभोगेरै हो यस्तो कठोर हुनुभएको ? जनताको माया लाग्ने भए त यसरी दुःख नदिनुपर्ने हो । लाग्छ जनताको दुखसँग गृहमन्त्री ज्यूलाई कुनै मतलव नहोला । मतलव भएको भए प्रहरीलाई जनताको सारथी मानेर सहयोगी बन्नुपर्ने हो । तर अनाहकमा लाठी बजारेको दृश्यहरु देख्दा लाग्छ मन्त्रीज्यूलाई केही मतलव नै छैन ।

विदेशबाट गरिब दुःखीका लागि भनेर सहयोग आउँछ । त्यसमा चरम भष्ट्राचार हुन्छ । सम्बन्धीत पक्षसम्म बजेट पुग्नै सक्दैन । पुगिहाले पनि कमिसन काटिएर हात्तीको मुखमा जिरा जस्तो गरीमात्र पुग्छ । अहिलेसम्म प्रधानमत्री कोषमा जम्मा भएको अढाइ अर्ब बढी रहक के का लागि र कसका लागि हो ? यदि जनताका लागि हो भने त्यो पैसा खान नपाएर, बस्न नपाएर बसेकाहरुलाई परिचालन गर्न किन नमिलेको ? यस्तो महा संकटमा मन्त्री र प्रधानमन्त्रीप्रति धिक्कार लाग्छ । जनतालाई समस्या भएको बेला सुकुम्बासी आयोग गठन तिर लाग्नु, कर्मचारी भर्ती र कार्यकर्ता पोषणतिर लाग्नु कति नाजायज छ । यति सुन्दर शान्त देश नेपालका प्रधानमत्रीलाई अलिकती सरम लाग्नुपर्ने हो ।

हुन त गृहमन्त्री भन्दा पनि देशका ‘ठुला मुखियाहरु’ केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) सरम लागेर अउनुपर्ने हो । तर पैदल हिंडेर पैताला फुटाएका गरिब मजदुरहरुको आँशुले कुनै दिन पोल्ला । प्रतिक्षा गरौं ।। जनतालाई गुलाम सम्झिएर गरिएको ब्यवहारले भविश्यमा पक्कै राम्रो हुनेवाला छैन । यस्तो संकटका बेला सुरक्षित रुपमा जनतालाई सहज तरिकाले आफ्नो घर जाने बाटो मिलाउनुको सट्टा, राहत वितरण गर्नु र सहायता गर्नुको सट्टा अमानवीय व्यवहार कुनै हिसाबले क्षमा दिन सकिने अवस्था छैन ।

हाम्रा देशका नेताहरुमा मानवीयता हराइसकेको हुनाले जनताहरु मानवता खोज्न गाउँ फर्किदै छन् । तेहीपनि सामान्य जुत्ता चपल र एक मुठी चिउराको भरमा सयौं किलोमिटर पार गर्न लम्किएका पैदलयात्रीहरु सानासाना बालबालिका र काखे नानीहरु बोकेर आफ्नो गन्तब्य तिर लागिरहेका छन् । यस्तो परिस्थितिमा प्रधानमन्त्री र गृहमन्त्रीले सोच्नु जरुरी छ । पैदलयात्रीलाई सहज र सुरक्षित रुपमा घर पुर्याउनुपर्छ । अन्त्यमा गृहमन्त्रीलाई प्रश्न गर्न मन लाग्छ–तपाई अझै यसैगरी लाचार भएरै घुम्ने मेचमाथि बसिरहनुहुन्छ कि मजदुर र गरिबहरुका लागि केही सोच्नुहुन्छ ?(प्रस्तुत सामाग्री लेखकका निजी विचार हुन)

प्रतिक्रिया दिनुहोस्