काठमाडौंका बजारमा ‘डेट एक्सपायर’ खाद्य सामग्री - दर्पण संसार

काठमाडौंका बजारमा ‘डेट एक्सपायर’ खाद्य सामग्री

२ सय ७ प्रकारका सामग्रीमा नयाँ लेभलिङ

काठमाडौं  काठमाडौं उपत्यका सहित मुख्य शहरहरुमा ‘डेट एक्सपायर’ खाद्य सामग्रीलाई नयाँ मिति राखेर बजारमा विक्रिका लागि पठाइने गरेको पाइएको छ ।

काठमाडौंका कलंकी, बाफल र महाराजगंजमा स्टोर गरि राखिएका ‘डेट एक्सपायर’ खाद्य सामग्रीलाई नयाँ मिति सहित पुनः लेबलिङ गर्दै गर्दा प्रहरीले भेटेर ठूलो मात्रामा त्यस्ता सामग्री सिल गरेको हो

प्रहरीले दिनै जसो त्यस्ता सामग्री भेट्न थालेपछि त्यस्ता अखाद्य वस्तुको विक्रीका लागि उपत्यकामा ठूलो गिरोह नै सक्रिय रहेको हुन सक्ने बताएको छ ।

प्रहरीले काठमाडौंमा मंगलबारसम्म त्यस्ता गिरोहबाट संचालित चार ठूला गोदाममा छापा हानी २ सय ७ प्रकारका बजारमा बेच्न लैजान तयारी अवस्थामा राखिएका करिब ३० करोड बराबरका अखाद्य सामग्री शिल गरेको हो ।

‘हेर्दा डिस्टिव्युटर्स र संचालकहरु फरक फरक छन, तर काम उही छ, थप अनुसन्धान गर्दै छौं ।’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले भने ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाले म्याद गुज्रिएका अखाद्य सामान बजारबाट उठाउँने र नयाँ लेबलिङ गरेर फेरी बजारमा पठाउन ठूलो गिरोह नै लागेको हुन सक्ने बताए ।

‘सप्लायर्सहरु फरक फरक देखिएका छन, तर कनेक्सन कहाँ छ भनेर खोज्दै छौं,’ महाशाखा प्रमुख थापाले भने ।

प्रहरीले आफ्नो तर्फको अनुसन्धान जारी राखेरै म्याद सकिएका सामान विक्रि गर्ने कम्पनी तथा डिस्टीव्युटरर्सहरुको फाइल सम्पत्ति सुद्धिकरण विभागमा पठाइएको जनाएको छ ।

प्रहरीले गत बिहिबारयता राजधानीका कलंकी, बाफल र महाराजगंजका चार ठूला स्टोरहरुमा विशेष सुचनापछि छापा हानेको थियो । 

यस्तै हिजो मंगलबार मात्रै राजधानीको महाराजगंज क्षेत्रबाट त्यस्ता म्याद गुज्रिएका तर नयाँ लेबलिङ गरिएका ३ करोड मुल्य बराबरका खाद्य सामग्री नियन्त्रणमा लिएको हो ।

महाराजगंजको जोडियाक गोदाममा प्रहरीले छापा हान्दा बिस्कुट सहित तेल, डाइपर टिस्यु पेपरलगायत ३ करोड बराबरको म्याद गुज्रिएका खाद्य सामग्री फेला परेको जनाएको हो ।

सो गोदामबाट संचालक जितेन्द्रकुमार लोइया सहित लेखापाल मुकेश रौनियार र कर्मचारी अनिल मगर पक्राउ परेका छन ।

प्रहरीले गत बिहिबार कलंकी र बाफल क्षेत्रका दुई गोदाममा छापा हान्दा म्याद गुज्रिएका हर्लिक्स, बिस्कुट चकलेट र बेकरी सम्वन्धि खाद्य सामग्री भेटेको थियो ।
अपराध महाशाखाको अगुवाइमा भएको सो अप्रेसनका क्रममा कलंकी स्थित आयन डिस्टीव्युटर्स प्रालिबाट रि लेबलिङ गर्ने एउटा मेसिन र वाफल स्थित अमजोन डिस्टिव्युटर्स प्रालिबाट म्याद गुज्रिएका ओरियो बिस्कुट, स्निकर्स चकलेट, बर्न भिटा, प्रिंगल्स लगायतका खाद्य सामग्री राखिएको गोदाम शिल गरिएको थियो ।

सो क्रममा बजारमा पहिले नै पठाइएका तर हाल डेट एक्सपायर भएका ओरियो बिस्कुट, हर्लिक्स, किन्डर ज्वय, स्नीकर्स, वाउण्टी चकलेट, ट्याङ जुस सहित म्याद सकिएका बेकरी सम्वन्धि खाद्य सामग्री पुनः नयाँ म्याद राखिएको अवस्थामा फेला परेको थियो ।

यस्तै गत आइतबार मात्रै कलंकीको एएसटी प्रालिको गोदामबाट समेत करिब ४ करोड मुल्य बराबरका १ सय ४१ प्रकारका सामग्रीको पहिचान भएको थियो । सो गोदाममा तेल, चेरी, पिठो जस्ता बेकरी सामानमा नयाँ लेबलिङ गर्दैै गरिएको अवस्थामा छापा हानिएको थियो ।

प्रहरीले सो कार्यमा संलग्न भएको अभियोगमा चार जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा भारत समस्तीपुर, विहारका ५२ वर्षीय अनिलकुमार बंका, आनन्दकुमार अवस्थी, रस्मिता श्रेष्ठ र विनोद ओझा छन् । अवस्थी लेखापाल, श्रेष्ठ म्यानेजर र ओझा स्टोर किपर छन ।

पक्राउ परेका बंकासहित हाल फरार प्रविन बंका र किरणदेवी अग्रवाल गरी तीन जनाको नाममा गोदाम छ । फरार अन्य संचालकहरूको भने प्रहरीले खोजी गरिरहेको छ ।

गत बिहिबार भने सो कार्यमा संलग्न आठ जना पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा झापा चन्द्रगढि घर भइ पुतलीसडक न्यूप्लाजा वस्ने पुष्पादेबी अग्रवाल, भारत राजस्थान विकानेर श्रीडुङगरगढ घर भई बाफल बस्ने रोनक बोथ्रा, रौतहट गौर घर भई बल्खु बस्ने मुन्ना ठाकुर र पप्पुकुमार ठाकुर, महोत्तरी भग्राम घर भई श्यामप्रसाद सिंह, धादिङ गल्छी घर भई कुलेश्वर वस्ने रामबहादुर बयलकोटी, धादिङ निलकण्ठ घर भई कंलकी बस्ने सिताराम उपरकोटी र धादिङ सिद्धलेख घर भई बाफल बस्ने दिलिप थापामगर छन ।

गत बिहिबार र आइतबार कलंकी र बाफलबाट पक्राउ परेका १५ जना मध्ये ८ जनालाई थप अनुसन्धानका लागि हिरासतमा र अन्य ६ जना कामदारलाई सामान्य तारेखमा, एक जना संचालकलाई एक करोड धरौटीमा छोडिएको छ ।

तर शिल गरिएका सामान नष्ट गर्न भने अलमल हुँदै आइरहेको छ । खाद्यसँग सम्वन्धित सरकारी पक्ष वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा प्रहरी बीच तालमेल नमिलेपछि शिल गरिएका सामान नष्ट गर्न अलमल हुँदै आइरहेको हो । उपभोक्ता संरक्षणकर्मीहरुले भने शिल गरिएका सामानलाई तत्काल नष्ट गर्न दबाब दिंदै आइरहेका छन ।

प्रतिक्रिया दिनुहोस्