एनआरएनए यूरोप बैठकमा हंगामा, अध्यक्ष पन्त र महासचिब डा.शर्माको राजीनामा माग - दर्पण संसार

एनआरएनए यूरोप बैठकमा हंगामा, अध्यक्ष पन्त र महासचिब डा.शर्माको राजीनामा माग

विरोध चर्किएपछि प्रत्यक्ष प्रसारण बन्द

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को बर्तमान नेतृत्वप्रति भित्रभित्रै असन्तुष्टी ब्यापक हुन थालेको रहस्य खुलेको छ ।

संघका केन्द्रिय अध्यक्ष कुमार पन्त र महासचिव डा. हेम राज शर्माको गतिविधिप्रति आइसीसी सदस्यहरु भित्रभित्रै रुष्ट बन्दै गएको युरोप बैठकमा चर्किएको हंगामाले खुलस्त पारेको छ ।

१८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको युरोप क्षेत्रीय बैठकमा अध्यक्ष पन्त र महासचिब डा.शर्माले तत्काल राजीनामा दिनुपर्ने माग उठेको हो । एकाएक राजीनामाको माग उठेपछि आइसीसी सदस्यहरु नेतृत्वप्रति कति रुष्ट रहेछन् भन्ने कुरा स्पष्ट भएको एनआरएनए अभियन्ताहरुले प्रतिक्रिया दिइरहेका छन् ।

एनआरएनए निर्वाचन पद्धति विकृत भएको पन्त र शर्माले पटक पटक दावी गरेपछि उनीहरुले निर्वाचनमा कसलाई कति रकम बांडियो सार्वजनिक गर्न माग गर्दै नैतिकताको आधारमा राजीनामा मागिएको हो ।

१७ बर्ष एनआरएनएले अपनाएको निर्वाचन पद्धतिका बारेमा विस्तृत छलफल गर्नु भन्दा पनि आइसीसी सदस्यहरुलाई बैठकमा बोल्न नदिएपछि विकृत निर्वाचनबाट धांधली गरेर जितेको भन्दै अध्यक्ष पन्त र महासचिव शर्माले तत्काल राजीनामा दिन सुझाव दिएका थिए ।

शर्माले निशुल्क सदस्यता, अनलाइन भोटिंङ र एमआइएस सिस्टमका बारेमा छलफल गर्न खोज्नेलाई विरोधीको संज्ञा दिंदै जवर्जस्ति प्रस्ताव विशेष अधिवेशनमा लैजाने र पारित गराउने बताए ।

गत शनिबार र आइतबार २ दिनसम्म चलेको युरोप बैठकको दोश्रो दिन आयोजित आइसीसी फोरममा आइसीसी सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिन नसकेपछि अध्यक्ष पन्त र महासचिव शर्मा तथा आइसीसी सदस्यहरुको चर्काचर्की वीच कार्यक्रमको प्रत्यक्ष प्रसारण नै बन्द गरिएको थियो ।

अध्यक्ष पन्त बसोबास गर्ने मुलुक जर्मनीका आइसीसी सदस्य विजय मोक्तानले महासचिव शर्माले पटक पटक गत वर्ष अक्टोबर महिनामा काठमाडौंको हायात होटलमा सम्पन्न एनआरएनएको नवौं विश्व सम्मेलनमा धांधली भएको, पैसा खर्च गरिएको, भेडाबाख्रा जस्तै किनबेच भएको, एनआरएन भन्न नजान्नेहरुले समेत मतदान गरेको बताएपछि आपत्ति जनाएका थिए।

‘तपाईंले पटक पटक गलत, फर्जी डेलिगेट्सको मतबाट निर्वाचित भएको भन्नुभयो। त्यसो भए तपाईंले र केन्द्रिय अध्यक्षले नैतिकताको आधारमा राजीनामा दिनु पर्द्छ कि पर्दैन ?’ उनले भने । लगत्तै अध्यक्ष पन्तले प्रत्यक्ष प्रसारण रोक्न निर्देशन दिएपछि काठमाडौँमा रहेका आइटी स्टाफले कार्यक्रमको प्रत्यक्ष प्रसारण बन्द गरि दिएका थिए।

आइसीसी सदस्यहरु चिन्तामणि सापकोटा, गुणराज शर्मा तथा सुबाश जोशीले पनि महासचिवको भनाइप्रति आपत्ति जनाएका थिए। कुनै पनि प्रस्तावमा विस्तृत छलफल गर्न माग गर्दा जे पायो त्यही आरोप लगाउने महासचिव शर्माको भनाइ माथि आइसीसी सदस्यहरुले थप छलफल माग गरेका थिए ।

तर महासचिव शर्माले आइसीसी सदस्यहरुलाई बोल्न नदिन संचालकलाई आग्रह गरेपछि कर्यक्रमको अध्यक्षता गरिरहेका यूरोप संयोजक नारायण आचार्यले २/२ मिनेट सबै आइसीसी सदस्यहरूलाई बोल्न दिन निर्देशन दिएका थिए।

त्यसपछि आइसीसी सदस्यहरु सापकोटा र शर्माले पटक पटक चुनावमा धांधली भयो, पैसाको खोलो बग्यो भन्ने महासचिव शर्मालाई आफुले कसरी चुनाव जितेको हो, कति पैसा खर्च भएको हो सार्बजनिक गर्न चुनौती दिएका थिए।

नेपालमा एनआरएनको जग्गा किन्दा, लाप्राक प्रोजेक्टमा पैसा खर्च गर्दा आइसीसी सदस्यहरुलाई जानकारी नदिएको, खर्चको हिसाबकिताब पारदर्शी र सार्बजनिक नगरेको लगायतका आरोप उनीहरुले लगाए।

मनोवैज्ञानिक रुपमा शक्तिको प्रयोग गरेर भर्चुएल विशेष महाधिवेशनगरी जसरी पनि प्रस्ताव पारित गराइ छाडने भन्दै महासचिब शर्मा शनिवार र आइतबार समेत आक्रामक रुपमा प्रस्तुत भएका थिए।

युरोप बैठकमा देखिएको रस्साकस्सीपछि एनआरएनए बर्तमान नेतृत्वप्रति असन्तुष्टिहरु भुसको आगोझैं सल्किंदै गएको अनुमान गरिएको छ । विशेषगरी महासचिब डा.शर्माप्रति आक्रोश बढेको बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस्