असोज १० गतेसम्म बाढीपहिरोको जोखिम, देशका सबै नदीमा बहाव बढ्ने - दर्पण संसार

असोज १० गतेसम्म बाढीपहिरोको जोखिम, देशका सबै नदीमा बहाव बढ्ने

काठमाडौं । आउँदो केही दिन देशभर वर्षाको सम्भावना रहेको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उत्तरपूर्व बंगालको खाडीमा विकसित भएको जलवायुको प्रभावले अबको चार/पाँच दिन देशका केही स्थानमा भारी वर्षासमेत हुने पूर्वानुमान गरिएको छ । कतिपय ठाउँमा हावाहुरी र चट्याङसमेत पर्ने जनाइएको छ ।

वर्षात्सँगै ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने हुन्छ । पहाडी भू-भागमा पहिरो जानसक्ने, तराईमा बाढी, डुबान र कटान हुनसक्ने भएकाले उच्च सतर्क अवस्थामा रहन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैमा अनुरोध गरेको छ ।

मंगलबार (आज) रातिबाट देशका सबै नदीमा बहाव बढ्ने र यही असोज १० गतेसम्म देशैभरका नदीमा बहाव उच्च हुने जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले असोज ११ गतेसम्म नदी तटीय क्षेत्रका क्रियाकलाप नगर्न वा गर्नुपरेमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्