काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट मंगलबार विश्वासको मत प्राप्त गरेका छन् । दाहालको पक्षमा २६८ मत र विपक्षमा २ मत परेको थियो । प्रचण्डले पाएको मत नेपाली राजनीतिमा विरलैले पाउने गर्छन ।
दाहाललाई नेपाली कांग्रेस,नेकपा एमाले,माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी,जनता समाजवादी,नेकपा एकीकृत समाजवादी,लोकतान्त्रिक समाजवादी,जनमत र नागरिक उन्मुक्ती पार्टीका सांसदले मत दिएका थिए । राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले भने दाहालको विपक्षमा मत दिएका थिए । नेपाल राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र मजदुर किसान पार्टीबाट प्रेम सुवाल सांसद छन् ।
सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पार्टीभित्रै असन्तुष्टि हुँदा हुँदै पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको थियो । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु अर्जुननरसिंह केसी, प्रकाशमान सिंह र प्रदीप पौडेलले विश्वासको मत दिन नहुने भन्दै फरक मत राखेका थिए । उनीहरुले प्रतिनिधि सभाको बैठक बस्नु अघि मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा पार्टी प्रतिपक्षकै भूमिकामा हुनु पर्ने बताएका थिए । तर बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको थियो । त्यसप्रति महामन्त्रीद्वय र कांग्रेसका नेताहरुले असन्तुष्टि जनाएका हुन् । कार्य सम्पादन समितिपछि बसेको कांग्रेस संसदीय दलको बैठकले दाहाललाई विश्वासको मत दिने निर्णय गरेको थियो ।
दाहाल १० पुसमा १६९ सांसदको समर्थन सहित प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।त्यसबेला दाहाललाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति र तीन जना स्वतन्त्र सांसद गरी १६९ सांसदले समर्थन गरेका थिए । दाहाल ७ दलीय गठबन्धनको प्रधानमन्त्रीको रुपमा नियुक्त भएका थिए । प्रतिनिधि सभामा कसैको एकल बहुमत नभएकाले दाहालको नेतृत्वमा गठबन्धन सरकार बनेको हो । गठबन्धन सरकारले १ महिनाभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
दाहाललाई विश्वासको मतका लागि माघ १० सम्मको समय भएपनि उनले मंगलबार प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् । प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरेर सांसदहरुको संख्या २७५ रहेको छ । सरकार बनाउनका लागि १३९ सांसदको समर्थन चाहिन्छ । संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त हुनुभएका दाहालले मंगलबार संविधानको धारा ७६ (४) वमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् । मंगलबारको मतदानमा २७० जना सांसद उपस्थित भएका थिए ।
प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेसँगै प्रतिबद्धता नभुल्ने बताएका छन्। उनले विश्वासको मतले जिम्मेवारी थपिएको बताए। नेपाली कांग्रेसले पनि विश्वासको मत दिएपछि अहिले विभिन्न कोणबाट टिप्पणी भइरहेका भन्दै उनले विश्वासको मतको बदलामा कांग्रेसलाई केही दिने सहमति नभएको बताएका हुन्। त्यस्तै कांग्रेसले विश्वासको मत दिनुलाई ऐतिहासिक घट्नाक्रम भनिएको छ ।
कांग्रेसले २०५१ सालमा पनि प्रतिपक्षमा बसेर विश्वासको मत दिएको थियो । तत्कालीन एमाले अध्यक्ष तथा प्रधानमन्त्री मनमोहन अधिकारीलाई कांग्रेसले विश्वासको मत दिएको थियो । मनमोहन प्रधानमन्त्री हुँदा दुईतिहाइ अर्थात् १९८ सांसदले विश्वासको मत दिएका थिए। मनमोहनलाई दुईतिहाइ दिँदा कांग्रे सभापतिमा गिरिजाप्रसाद कोइराला थिए। २०४८ सालको आम चुनावमा बहुमत ल्याएको कांग्रेसले पार्टीभित्र आन्तरिक विवाद चुलिएपछि तीन वर्षमै संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेको थियो।
प्रतिक्रिया दिनुहोस्